ओखलढुंगा ( रेडियो ओखलढुंगा ) ओखलढुंगाको रुम्जाटार विमानस्थलमा पुनः उडान सुरु भएको छ । बाढीपहिरोले सडक यातायात अवरुद्ध भएको बेला काठमाडौं–रुम्जाटार उडान पुनः सुरु गरिएको हो ।
२०७६ देखि रुम्जाटार विमानस्थल सञ्चालनमा थिएन । काठमाडौंबाट रुम्जाटार विमानस्थलमा आइतबारदेखि उडान सुरु भएको हो । सातामा दुई दिन उडान गर्ने गरी हाल रुम्जाटरमा विमानस्थल पुनः सञ्चालनमा ल्याइएको हो । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका ओखलढुंगाका सांसद रामहरि खतिवडाले रुम्जाटार विमानस्थल सातामा दुई दिन चल्ने गरी पुनः सञ्चालनमा आएको जानकारी दिनुभयो । असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढी र पहिरोले काठमाडौंबाट काभ्रे, सिन्धुली हुँदै ओखलढुंगा जाने विपी राजमार्ग लगायतका सडक अवरुद्ध भएपछि रुम्जाटार विमानस्थलमा उडान गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले समिट एयर र नेपाल एयरलाइन्सलाई अनुमति दिएको थियो । काठमाडौं–रुम्जाटार भाडा ४ हजार ८ सय र रुम्जाटारबाट काठमाडौं आउँदा ४ हजार ६ सय भाडादर निर्धारण गरिएको छ ।
२० आश्विन २०८१, आइतबार
118
Shares