२१ कार्तिक २०८१, बुधबार | Thu Nov 7 2024

वीपी राजमार्गको पुनर्निर्माणका लागि सरकार जाइकाको निर्णय कुर्दै


९ कार्तिक २०८१, शुक्रबार  

26
Shares


ओखलढुंगा –गएको असोज दोस्रो हप्ता बाढी र पहिरोले क्षतविक्षत बनाएको वीपी राजमार्गको पुनर्निर्माणका लागि सरकारले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निर्णय कुरिरहेको छ । सडक डिभिजन कार्यालय भक्तपुरले केही दिनमै जाइकाको निर्णय आउने भएकाले निर्णय आएलगत्तै पुनर्निर्माणको काम थाल्ने जनाएको छ ।वीपी राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबासअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडक खण्डको धेरैजसो सडक क्षतिग्रस्त अवस्थामा रहेको छ ।बाढी पहिरोले अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गएको असोज ३० गतेदेखि नै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म गाडी चलाउन रोक लगाएको छ । सङ्घीय राजधानी काठमाण्डौलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको वीपी राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा आएको छ ।वीपी राजमार्ग पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएपछि गएको असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गरेर सहयोगबारे छलफल गर्नुभएको थियो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले आफूहरू अहिले जाइकाको निर्णयको पर्खाइमा रहेको जानकारी दिँदै पुनर्निर्माणमा ढिला गर्ने पक्षमा नरहेको बताउनुभयो । उहाँले तत्कालै निर्माण थाल्नेगरी सरोकारवाला निकायसँग छलफल पनि शुरू भइसकेको पनि जानकारी दिनुभयो ।इन्जिनियर योगेशका अनुसार प्रधानमन्त्री ओलीसँग राजमार्ग पुनर्निर्माणबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक÷दुई दिनमै थप छलफल गर्ने योजना तय गरेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  २ : ०६ बजे