३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

उपनिर्वाचनमा निर्वाचन आचार संहिता अनिवार्य लागू गर्ने निर्णय


५ मंसिर २०८१, बुधबार  

0
Shares


ओखलढुंगा (रेडियो ओखलढुंगा) ओखलढुंगाको कार्यालय प्रमुखहरुको बैैठकले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा सबैले निर्वाचन आचार संहिता अनिवार्य लागू गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय, ओखलढुंगामा प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालको अध्यक्षतामा बसेको बैठकले व्यक्ति निकाय तथा पदाधिकारीले अनिबार्य रुपमा निर्वाचन आचार संहिता पालना गर्ने गराउने निर्णय गरेको हो ।
स्थानीय तह उपनिर्वाचनलाई सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को २ मा उल्लेख भएका व्यक्ति, निकाय तथा पदाधिकारीले अनिवार्य पालना गर्ने निर्णय भएको सूचना अधिकारी अनुप पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै, बैठकले आफ्ना कार्यालय मातहतका कुनैपनि कर्मचारीले आचारसंहिता विपरित काम गरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई कार्वाही हुने भएकाले आफ्ना कार्यालयमा समेत कडाईका साथ आचारसंहिता पालन गर्न गराउन सचेत गर्ने निर्णय समेत भएको प्रशासकीय अधिकृत तथा सूचना अधिकारी पौडेलको भनाइ छ ।
बैठकले कार्यालयबाट प्राप्त भएको सवारी साधनको विवरण अनुसार उपनिर्वाचनको प्रयोजनार्थ जिल्ला प्रशासन कार्यालयबाट माग भएका बखत उपनिर्वाचनलाई प्राथमिकता दिई सवारी साधन उपलब्ध गराउने, मंसिर १६ र १७ गते मतदान एवम् मतगणना हुने दिनहरुमा विद्युत, सञ्चार सेवा अबरुद्ध हुन नदिन सम्बन्धित कार्यालयलाई निर्देशन दिने समेत निर्णय गरेको प्रमुख जिल्ला अधिकारी डा. ढकालले जानकारी दिनुभयो ।
यसैवीच, उपनिर्वाचनलाई स्वच्छ र मर्यादित रुपमा सम्पन्न गर्न गृह मन्त्रालयबाट प्राप्त निर्देशिका कार्यान्वयन गर्ने सम्बन्धमा जिल्ला सुरक्षा समितिको वैठक बसि निर्णय भएको जनाइएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  १२ : १० बजे