ओखलढुंगा (रेडियो ओखलढुंगा ) मानेभन्ज्याङ गाउँपालिका वडा नं ८ राघवपुरले आयोजना गरेको प्रथम वडा अध्यक्ष कप फुट्सलको उपाधि सप्तरङ्गी युवा परिवार फोलले जितेको छ । फाइनल खेलमा ३–१ गोलले रुम्जाटार युनाइटेडलाई हराउँदै सप्तरङ्गीले उपाधि जितेको हो ।
सप्तरङ्गीले उपाधि जित्दै नगद रु ६६ हजार ६६६ का साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता रुम्जाटार युनाइटेडले नगद रु ३३ हजार ३३३ का साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै प्रतियोगितामा तेस्रो स्थानका लागि खेल हुने भनेपनि खेल नखेली सेमीफाइनमा पुग्ने दुवै टिम युनाइटेड ब्रदर्स फुटबल क्लब र रिभोरुङ ए ले नगद रु १२ हजार ५०० र १२ हजार ५०० सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सप्तरङ्गी युवा परिवारका जीवन राई उत्कृष्ट गोल रक्षक, सुदन राई उत्कृष्ट डिफेन्डर, सुमन राई उच्च गोलकर्ता घोषित भएका छन् । आयोजकको तर्फबाट टिम ‘डी’ का खेलाडी उदयमान खेलाडी अर्जुन राई घोषित भएका भने रुम्जाटार युनाइटेडका सञ्जय गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् । विधागतर्फ उत्कृष्ट बनेका खेलाडीले जनही नगद रु २ हजारका साथमा ट्रफी प्राप्त गरेका छन् ।

“भाषा, भेषभुषा, धर्म संस्कृति हाम्रो पहिचान, खेलकुदको माध्यमबाट राघवपुरलाई चिनाउने हाम्रो अभियान” भन्ने मूल नाराका साथ पौष २९ गतेदेखि गाउँपालिकाको वडा नं ८ राघवपुरको खेलमैदानमा शुरु भएको प्रतियोगिता माघ २ गते सम्मपन्न भएको हो ।