ओखलढुंगा (रेडियो ओखलढुंगा) पाठेघरको मुखको क्यान्सरविरूद्धको ‘एचपीभी’ खोप ओखलढुंगामा ७ हजार बढी किशोरीलाई ‘एचपीभी’ खोप लगाइने भएको छ । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका ७ हजार २ सय १ जना छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने भएको हो । जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख कर्म चन्द्र राजवंसीले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्लाका कक्षा ६ देखि १० मा अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्षसम्मका छात्रालाई यो खोप लगाइने जानकारी दिनुभयो। उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहबाट तथ्याङ्क सङ्कलन भइरहेको छ । देशव्यापी खोप कार्यक्रमअन्तर्गत आगामी माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ ।खोप विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेकाले सबै बालिकाहरूलाई खोप लगाउन आग्रह गरिएको स्वास्थ्य कार्यालयका प्रमुख कर्म चन्द्र राजवंसीले बताउनुभयो । नेपालमा हरेक वर्ष दुई हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको तथ्यांकमा उल्लेख छ।
नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुम्जाटारले जनाएको छ । यसबाट हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाहरूको मृत्यु हुने गरेको बताइएको छ। कोशी प्रदेशमा दुई लाख चार हजार नौ सय ७४ जनालाई यो खोप लगाइने बताइएको छ।
१६ माघ २०८१, बुधबार
32
Shares