जानुका रुचाल
ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ–८, राघबपुरमा कोदो कुट्ने यन्त्र (मेसिन) प्रयोगपछि कृषकहरुलाई सहज भएको छ । सयपत्री स्वास्थ्य आमा समूहले देउसी भैलोबाट संकलित रकमबाट कोदो कुट्ने यन्त्र खरीद गरी प्रयोग गर्न थालेपछि कृषकहरुलाई सहज भएको हो ।
आमा समूह ५० प्रतिशत लगानी र मानेभञ्ज्याङ गाउँपालिकाको ५० प्रतिशत अनुदानमा उक्त मेसिन खरीद गरी सदस्यहरुलाई प्रयोग गर्न दिइएको आमा समूहकी उपाध्यक्ष हर्की माया मगरले जानकारी दिनुभयो । परम्परागत रुपमा कोदो कुट्दा धेरै जनशक्ति र घण्टौं लाग्ने भएपछि किसानहरु विकल्पको खोजीमा थिए । देउसीभैलो गरेरै कोदो कुट्ने मेसिन किन्ने योजना बनेपछि आमा समूहका सदस्यहरु एकजुट भएर अघि बढेका थिए ।
विगतमा सामुहिक खलो बनाएर कोदो कुट्ने गरिएको भएपनि यस बर्षदेखि घरआँगनमै मेसिन ल्याएर कुट्न थालेपछि समयको बचत र जनशक्तिपनि थोरै लाग्ने गरेको उपाध्यक्ष मगरको भनाई छ ।
‘मान्छेले लाठो प्रयोग गरेर कुट्दा समय पनि धेरै लाग्ने हातमा ठेला समेत उठ्ने समस्या थियो ।’ स्थानीय कृषक राम बहादुर मगरले भन्नुभयो ‘चार पाँच मुरी कोदो कुट्ना ४÷५ दिन नै लाग्थ्यो । तर, मेसिनको प्रयोगबाट छिटो र सहज रुपमा एकैदिन २÷३ घरको कोदो कुट्न सकिन्छ ।’
किसानहरुले मेसिनलाई पालैपालो प्रयोग गर्ने गरेछन् । यससँगै कृषकहरु कृषिमा प्रविधिको प्रयोग गर्नुपर्ने रहेछ भन्नेतर्फ लागेको गाउँपालिका कृषि शाखाका नाप्रस उमा भुजेलको भनाई छ । पालिकाले कृषिमा अधिकतम् बजेटका व्यवस्था गर्नुका साथै आधुनिकरणमा समेत जोड दिइ राखेको अध्यक्ष ज्ञानेन्द्र रुम्दाली बताउनुहुन्छ ।
(प्रशिक्षार्थी पत्रकार)
१८ माघ २०८१, शुक्रबार
224
Shares