१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

विगुटारका विपन्न र दीर्घरोगी वडा कार्यालयद्धारा स्वास्थ्य विमा


२८ माघ २०८१, सोमबार  

20
Shares


ओखलढुंगा । सिद्धिचरण नगरपालिका वडा नं. ७, विगुटारले वडाभित्रका विपन्न तथा दीर्घरोगीलाई निःशुल्क स्वास्थ्य विमा गरिदिएको छ । विपन्न र दीर्घरोगी १९ जनाको स्वास्थ्य विमा गरी सो वापत लाग्ने शुल्क वडाले व्यहोर्ने निर्णय गरेको हो ।
वडाले एक सूचना जारी गर्दै फागुन १ गतेबाट लागू हुने गरी विपन्न तथा दीर्घरोगीहरुलाई स्वास्थ्य विमा बापत ३ हजार ५ सयका दरले रकम वडाले व्यहोरि दिने गरी नगरपालिकालाई जानकारी गराइएको वडा अध्यक्ष भल बहादुर कट्वालले जानकारी दिनुभयो ।
नागरिकको जीवन सुरक्षा, स्वास्थ्य, शिक्षा लगायतलाई जोड दिँदै विपन्न वर्गको हितमा स्वास्थ्य विमा कार्यक्रम लागू गर्दै विमा कार्ड वितरण गरिएको अध्यक्ष कट्बालको भनाइ छ । नागरिकको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा स्थानीय सरकारको चासो र चिन्ता भएकाले विपन्न परिवारलाई विमामार्फत उनीहरुको स्वास्थ्यमा सहज र सुलभ पहुँच स्थापित गर्न वडाले आर्थिक बर्ष २०८१।०८२ को बार्षिक कार्यक्रममा बजेट नै व्यवस्था गरेर विमा कार्य अघि बढाएको र क्रमशः यसको क्षेत्र विस्तार गर्दै जाने जनाइएको छ ।
सामान्य स्वास्थ्योपचार गर्न समेत नसक्ने परिवारका सदस्यहरुलाई लक्षित गर्दै वडाले आवश्यकताको पहिचान गरी बजेट निर्माण गर्दा स्थानीय सरकार र जनप्रतिनिधिले आपनत्व महशुस गरेकाले विश्वास बढ्दै गएको लाभग्राहीहरुले खुसी व्यक्त गरेका छन् । वडा अध्यक्ष कट्वालले यसअघि विपन्न तथा विद्यालयमा अध्ययनरतहरुलाई खाद्यान्न, लत्ता कपडा समेत वितरण गरेका थिए ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ३ : ०८ बजे