१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

हास्यकलाकार सिम्खडालाई साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार


१६ फाल्गुन २०८१, शुक्रबार  

18
Shares

लाक्पा जी शेर्पा

(रेडियो ओखलढुंगा ) ‘२१५२ सिङ मो डुल लो ग्याल्पो लोसार’ अवसरमा साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार हास्यकलाकार शैलेन्द्र सिम्खडालाई प्रदान गरेको छ । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले यस बर्षको सिम्खडालाई पुरस्कार प्रदान गरेको हो ।
विहिबार ९फागुन १५० राजधानीको बौद्धमा आयोजित लोसार गुथुक साँझको अवसरमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सिम्खडालाई नगदसहित सम्मान प्रदान गर्नुभयो । पुरस्कारको राशि ३१ हजार र ट्रफी रहेको केन्द्रका अध्यक्ष आङ डोमा शेर्पाले जानकारी दिनुभयो ।
केन्द्रले स्थापना गरेको साम्दे शेर्पा अक्षय कोषबाट बार्षिक रुपमा कलाकारितामा विशिष्ठ योगदान पुर्याउनेलाई छनौट गरी पुरस्कृत गर्दै आएका छन् । त्यस्तै, साम्दे शेर्पा नवप्रतिभा पुरस्कार हास्य कलाकार तैयब शाह र स्मृति पुरस्कार शेर्पा श्याब्रु तथा टुंना कलाकार देण्डी शेर्पालाई प्रदान गरिएको छ । दुबै जनालाई जनही १० हजार एक सय एघार रुपैयाँ नगद र प्रमाण पत्र प्रदान गरिएको महासचिव छोटी शेर्पाले जानकारी दिनुभयो ।


सोही अवसरमा शेर्पा सेवा समाज गोकर्णेश्वरले आयोजना गरेको श्याब्रु नृत्य प्रतियोगितामा विभिन्न स्थान हासिल गर्नेहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा गार्मा शेर्पा किदुग प्रथम, भोजपुर शेर्पा किदुग द्धितीय र शेर्पा सेवा समाज खोटाङले तृतीय स्थान हासिल गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेश पर्यटन मन्त्री विमल ठकूरी, प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे लगायतको उपस्थिती रहेको थियो । ग्याल्पो लोसारको शुभकामना आदानप्रदानका साथमा भएको गुथुक साँझमा चर्चित गायक रोज मोक्तान, इन्द्र गुरुङ, विश्व दोङ, ल्हाक्पा शेर्पा, लाक्पा तेन्जी शेर्पा, फुटी शेर्पा, लाक्पा डोमा शेर्पा लगायतले प्रस्तुती दिनुभएको कार्यक्रम संयोजक दावा छिरी शेर्पाले जानकारी दिनुभयो ।


प्रमुख अतिथिको आसनबाट बोल्दै कांग्रेस सभापति समेत रहनु भएका पूर्वप्रधानमन्त्री देउवाले हिमाली क्षेत्रको समस्या, शेर्पाहरुको पहिचान, सभ्यता र इतिहासलाई उजागर गर्दै संरक्षण र प्रबद्र्धन गर्न राज्य तदारुकताका साथ लागि रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री देउवाले साम्दे शेर्पा जस्ता कलाकारहरुको सम्मानमा पुरस्कार स्थापना गर्नु गौरबको विषय रहेको भन्दै यसलाई निरन्तरता दिन राज्यले आपनत्व लिने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा शेर्पा समुदायका पूर्वमन्त्री, संसद, नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पा लगायतले शेर्पाहरुको वर्तमान अवस्था, राज्यको नीति र पहिचानका विषयमा आ–आफ्नो धारण राख्नुभएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ११ : ०० बजे