१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

सोनाम छ्योलिङ गुम्बामा ग्याल्पो लोसार कार्यक्रम सम्पन्न


२६ फाल्गुन २०८१, सोमबार  

114
Shares


ओखलढुंगा (रेडियो ओखलढुंगा)। सिद्धिचरण नगरपालिका ५, उदिनढुंगास्थित सोनाम छ्योलिङ गुम्बामा ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । २१५२ सिङ मो डुल लो नयाँ बर्षको ११ औं दिनमा गुम्बाको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।
सिद्धिचरण नगरपालिका उपप्रमुख केदारबाबु बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न सांस्कृतिक प्रस्तुती, लोसार विशेष परिकारहरु खाप्से, ड्यासिल, छोङ्ग्यलु र गुथुक साथमा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको अध्यक्ष छिरिङ दावा शेर्पाले जानकारी दिनुभयो । कार्यक्रममा भूकम्पबाट प्रताडीत गुम्बाको पुनः निर्माणका लागि विभिन्न तहगत सरकारसँग माग राखेपनि माग संवोधन नभएको भन्दै स्थानीयहरुले गुनासो गरे । गुम्बा ऐतिहासिक पुरत्वतिक महत्व बोकेको र यसभित्रका धर्मग्रन्थ, मूर्तिहरुको संरक्षणका लागि पनि तत्काल पुनः निर्माण गर्नुपर्ने गुम्बाका उपाध्यक्ष लाक्पा शेर्पाले जोड दिनुभयो ।

गुम्बालाई धार्मिक पर्यटनको आकर्षणको केन्द्र विन्दुको रुपमा विकास गर्दै यसको ऐतिहासिकता जोगाउनुपर्नेमा सबैको ध्यान पुग्नुपर्ने र पुनः निर्माण र सम्बद्र्धनका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने गुम्बाका सल्लाहकार फुर्वा शेर्पाको भनाइ थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख बस्नेतले सबै जातिजाति, भाषाभाषि, संस्कृति, धार्मिक संप्रदायको पहिचानलाई स्थापित गर्दै समस्याहरुको पहिचान र समाधानको लागि नगरपालिका सदैव क्रियाशिल र सकारात्मक रहेको बताउनुभयो । सिमित स्रोत र साधनकावीच ठूलो जनसंख्या र भूगोल समेटिनुपर्ने भएकाले तोकिएकै समयमा कतिपय कामहरु चाहेरपनि गर्न नसकेको नगरउपप्रमुख वस्नेतको भनाई थियो । लोसार जस्ता सांस्कृतिक पर्वले आपसी सद्भाव बृद्धि गर्ने र यसैको जगमा टेकेर गुम्बाको वृहत्तर विकासमा चासो राख्नु राम्रो पक्ष भएको उपप्रमुख बस्नेतको भनाइ छ ।


कार्यक्रममा विशेष अतिथिको रुपमा नगरका संस्थापक मेयर मोहन कुमार श्रेष्ठले लोसार जस्ता मौलिक चाडहरुकै कारण देश सुन्दर र विश्वाल बनेको उल्लेख गर्नुहुँदै सबैको पहिचान, अस्तित्वको रक्षा र समान विकासका लागि राज्यले नीति लिनुपर्नेमा जोड दिनुभयो ।


अर्का वक्ता कार्यपालिका सदस्य अपसरा कार्कीले विविधताभित्रको एकताको एउटा स्वरुप ग्याल्पो लोसार भएको उल्लेख गर्नु हुँदै लोसारमार्फत सांस्कृतिक जागरण र बौद्धमार्गीहरुले देखाएको तदारुकता सम्मान योग्य रहेको धारण राख्नुभयो ।

शुभकामना आदानप्रदानका क्रममा नेपाल शेर्पा संघका केन्द्रीय सचिव लाक्पा जी शेर्पाले लोसार मनाउने विधि, यसको ऐतिहासिक पक्ष लगायतको विषयमा जानकारी दिनुभयो ।
शेर्पा संघ, ओखलढुंगाका अध्यक्ष पेम्बा शेर्पाले समुदायको हित र सांस्कृतिक पक्षलाई बलियो बनाउन संघले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेर परिवर्तनको शुरुवात गरेको बताउनुभयो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ११ : २३ बजे