काठमाडौं । सरकारले मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरेको छ । वर्षात शुरु भएकाले काठमाडौं उपत्यकामा ल्याइएको पानी बन्द गर्न लागेको हो ।
खानेपानी आयोजना शुरु भएको दुई दशकपछि २०७८ चैत १५ मा पहिलोपटक उपत्यकामा मेलम्चीको पानी वितरण गर्न थालिएको थियो । तर, गत असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो । क्षति पुगेको १० महिनापछि मर्मत गरेर पुन: उपत्यकामा गत वैशाख ११ गतदेखि अस्थायी रुपमा पानी वितरण गरिएको थियो । अहिले पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकाभित्र वितरण भइरहेको छ ।
मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले कहिलेबाट मेलम्ची खानेपानी बन्द गर्ने भन्नेबारे जल तथा मौसम विज्ञान विभागसँग छलफल भइरहेको जानकारी दिए । पहिलाको घटना दोहोरिन नदिन बेलैमा पानी बन्द गर्ने उनको भनाइ छ ।
उनले भने,‘मौसम स्थितिबारे विभागसँग छलफल चलिहरेको छ,अहिलेबाट नै पानी पर्न थालेको छ,अब यसरी नै पानी पर्दै गयो भने छिट्टै बन्द गर्नुपर्छ ।’
पानी बन्द गरेपछि फेरि उपत्यकामा खानेपानीको समस्या दोहोरिने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग छ । तर, मेलम्ची पानी नआउँदा र सुक्खा सिजनमा विभिन्न स्रोतबाट दैनिक १०/११ करोड लिटर मात्र आपूर्ति गर्न सकिएको छ ।