१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

ओखलढुंगामा नवजात शिशु मृत फेला,अनुसन्धान जारी



ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका-२ स्थित (साविक ठुलाछाप गाविस ४) मा पुरानो पानी ट्यांकीभित्र एक नवजात शिशुको शव फेला परेको छ । बोराभित्र पोको पारेर टयांकीमा फालिएकोे अवस्थामा सालनाल सहितको शिशुको शव फेला परेको हो । आज (शनिबार) बिहान बोराभित्र शिशुको शव भेटिएको भनेर प्रहरीलाई खबर प्राप्त भएको थियो ।

खबर पश्चात जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको टोलीले घटना स्थल पुगेर प्रारम्भिक अनुसन्धान गरेको छ । अनुसन्धानका क्रममा शिशुको शव झन्डै ३÷४ दिन अघिको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए । हाल कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी प्रमुख खनालले बताए । स्थानीयले भने गाउँकै कुनै महिलाले बच्चा जन्माएर फालेको हुन सक्ने अनुमान गरेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ३ : २५ बजे