१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

ओखलढुंगामा नयाँ पाठ्यपुस्तक नहुँदा पठनपाठन प्रभावित,पुस्तक पुग्न अझै समय लाग्ने



ओखलढुंगा । नयाँ शैक्षिकसत्र सुरु भएपनि विद्यार्थीले नयाँ पुस्तक नपाउँदा ओखलढुंगाका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । जिल्लामा रहेका ३ सय भन्दा बढी सामुदायिक विद्यालयमा अहिले नयाँ पाठ्यपुस्तक पुगेको छैन् ।

नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समेत समस्या भएको छ । पाठ्यक्रम फेरिएको सामुदायिक विद्यालयको कक्षा-४, ७ र ९ का विद्यार्थीसँग पुस्तक छैन् । पाठ्यक्रम यथावत भएका अन्य कक्षाका विद्यार्थीले भने पुराना पुस्तक पढ्ने गरेको पाइएको छ । सिद्धिचरण नगरपालिका-११ गैरीगाउँ स्थित जालपा माध्यमिक विद्यालयको कक्षा-९ का विद्यार्थी रमनकुमार शाहले पुस्तक नहुँदा शिक्षकलाई पढाउँन, आफुहरूलाई बुझ्न र गृहकार्य गर्न समस्या भएको बताए ।

जिल्लाका धेरैजसो विद्यालयका पाठ्यकक्रम नफेरिएका विद्यार्थीलाई पुराना पुस्तक उपलब्ध गराइएको छ । उपल्लो कक्षामा गएका विद्यार्थीलाई यसअघि उनीहरूले प्रयोग गरेको पुस्तक फिर्ता मागेर उपलब्ध गराउने गरिएको विद्यालयहरुले जानकारी दिएका छन् । नयाँ कक्षामा गएसँगै नयाँ पुस्तक पढ्न पाउने कुराले प्राय: सबै विद्यार्थी हर्षित भएका हुन्छन् । तर, अहिलेको अवस्थामा कतिपय गाता नभएका, केरमेट भएका र च्यातिएका पुराना पुस्तक पढ्न असजिलो हुने गरेको जालपा माविकै कक्षा-१० का विद्यार्थी सुजन गदालले गुनासो गरे ।

पुस्तक नहुँदा जिल्लाका केही विद्यालयका शिक्षकहरुले भने पाठ्यक्रम फेरिएका कक्षाका विद्यार्थीलाई इन्टरनेटको माध्यमबाट पाठ्य सामग्रीहरु डाउनलोड गरेर पढाउने गरेका छन् । तर, यसरी पढाउँदा पनि विद्यार्थीलाई गृहकार्य गर्न भने समस्या नै हुने हुँदा त्यति प्रभाकारी नभएको मोलुङ गाउँपालिका २ स्थित गणेश माविका शिक्षक राजन दाहालको भनाइ छ ।
यता, शिक्षा विकास तथा समन्वय ईकाई ओखलढुंगाले भने अहिले छिटपुट भएका विद्यालयमा भर्ना अभियान नै सञ्चालन भइरहेकाले पठनपाठन त्यति प्रभावित नभएको जनाएको छ । ईकाई प्रमुख नेत्रप्रसाद गजुरेलले पाठ्यक्रम फेरिएका कक्षाको पनि पाठ्यक्रम सामाग्रीहरु आइसकेकाले त्यसैको आधारमा पठनपाठन भइरहेको बताए । पुस्तक छपाइकै काम भइरहेकाले पुस्तक आउन अझै केही समय लाग्ने बुझिएको उनको भनाइ छ ।
पुस्तक नआउँदा अभिभावकलाई समेत चिन्ता थपिएको छ । कतिपय बालबालिकाहरुले गृहकार्य गर्न पुस्तक नभएको बाहना समेत बनाएर धेरैजसो समय खेलेर बिताउने गरेको उनीहरु बताउँछन् । यद्यपी पुस्तक नभएकै कारण विद्यालयको पठनपाठनमा समस्या भएपनि पढाई नै ठप्प हुने अवस्था भने नआएको शिक्षा विकास तथा समन्वयको ईकाईको दाबी छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ३ : ३७ बजे