ओखलढुंगा (रेडियो ओखलढुंगा) । खिजीदेम्बाभित्र सञ्चालित परियोजनालाई नतिजामुखि बनाउन गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले निर्देशन दिएको छ । गाउँपालिकाभित्र सञ्चालित गैरसरकारी संस्थाहरुले सञ्चालन गर्ने कार्यक्रमहरुलाई नतिजामुखि बनाउन अध्यक्ष शेर्पाले निर्देशन दिएका हुन् ।
परियोजनाहरु देखावटी भन्दापनि नतिजामुखि र प्रभावकारी हुनुपर्ने रेस्क्यू नेपालद्धारा सञ्चालित परियोजनाको सल्लाहकार समितिको वैठकमा अध्यक्ष शेर्पाको भनाइ थियो ।
फिन्ल्याण्ड सरकारको सहयोगमा फिडा अन्तर्राष्ट्यि गैरसरकारी संस्थासँगको सहकार्यमा रेस्क्यू नेपालले यहाँको विभिन्न वडाहरुमा शिक्षा, जीविकोपार्जन र वातावरणसँग सम्वन्धित कार्यक्रहरु सञ्चालनमा छन् । २०७१ बाट रेस्क्यू नेपालले गाउँपालिकाको विभिन्न विद्यालयमा कम्प्युटर प्रविधि, बाल क्लव, स्वास्थ्य संस्था, कृषक समूहलाई एकिकृत गरी जीविकोपार्जन सम्वन्धि परियोजना सञ्चालन गरिरहेको परियोजना निर्देशक तिमती गुरुङ्गले जानकारी दिए ।
सन् २०२२ देखि गाउँपालिका भरका विद्यालयहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने सो अवसरमा जानकारी दिइयो । संस्थाले ‘बालबालिका र युवाहरुको समावेशी र सुरक्षित पथ’ परियोजना अघि बढाइएको छ । शिक्षा, स्वास्थ्य र क्षमता विकासलाई जोड दिँदै लैंगिक समता, अपांगता र फरक क्षमता भएकाहरुको उत्थान र वातावरणको क्षेत्रमा प्रभावकारी रुपमा कार्यक्रमहरु सञ्चालन गर्ने र सोको लागि पृष्ठपोषण संकलन गर्न कार्यक्रम आयोजना गरिएको सहजकर्ता अन्जन सुनुवारले जानकारी दिए । परियोजनाले दिगो जीविकोपार्जन र बालविकास कार्यक्रम अन्तर्गत खिजीदेम्बाको साविकका ५ वटा वडामा १४ वटा समूहमार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका थिए ।
कार्यक्रममा परियोजनाको अवधीमा ४ सय १२ परिवारको १७ प्रतिशत आर्थिकबृद्धि भएको तथ्याङ्क समेत प्रस्तुत गरे । परियोजनाले गाउँपालिकाभित्रका ३८ वटा विद्यालयलाई नुमना बनाउने लक्ष्य लिइएको फिडाका निर्देशक कालूराम चौधरीले बताए । खानेपानी, सिँचाई पोखरी, पशुपालन, तरकारी खेती तालिम लगायतले समुदायको जीविकोपार्जनमा टेवा पुगेको परियोजनाको निष्कर्ष छ ।
स्थानीय सरकारसँगको समन्वयमा रेस्क्यू नेपाल सुरक्षित वसोवास, जीविकोपाजर्न र स्वास्थ्यलाई विशेष ध्यान दिएको उल्लेख गर्दै भूकम्पपछि राहत, खाद्यान्न वितरणमा समेत काम गरेको जनाइएको छ । परियोजनाबाट बालबालिकाहरुलाई संस्थागत विकास, विद्यालयहरु बालमैत्री शिक्षण सिकाई र समुदायको आर्थिक हैसियत उठाउन भूमिका निर्वाह गरेकोले परियोजना प्रभावकारी रहेको पाइएको खिजीदेम्बा ६ का वडा अध्यक्ष पासाङ निमा शेर्पाले प्रतिक्रिया दिए ।
फिडाले विभिन्न नगर तथा स्थानीय पालिकाहरुमा परियोजना सञ्चालन गरिरहेको जानकारी दिँदै निर्देशक चौधरीले परियोजनालाई अझ प्रभावकारी र नतिजामुखि बनाउनमा जनप्रतिनिधीहरुको सकारात्मक सहयोग, सुझाव र समन्वयको खाँचो रहेको औंल्याए ।
फिडाले कैलाली, सर्लाही, धुनषा र ओखलढुंगाको विभिन्न स्थानीय तहमा लामो समयदेखि परियोजना लागू गरेर काम गरिरहेको भने ओखलढुंगामा रेस्क्यू नेपालले परियोजना कार्यान्वयन गरिरहेको जनाएको छ ।