काठमाडौं (रेडियो ओखलढुंगा) । ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले) का सांसद यज्ञराज सुनुवारले सरकार बिचौलियाहरूबाट कमाउने धन्दामा लागिपरेको आरोप लगाएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सुनुवारले नेताहरू कमाउने धन्दामा लागेको आरोप लगाए ।
नेताहरु चुनावका लागि चन्दा संकलनमा व्यस्त रहेको, कर्मचारीहरू कमिसनमा चलेको, ठेकेदारहरू कामै नगरी भुक्तानी लिने धाउमा लागि परेको सुनुवारको आरोप छ ।
सांसद सुनुवारले ढिलासुस्ती र कमसल काम गर्ने ठेकेदारहरूलाई कारबाही हुने गरी कानुनी व्यवस्था गर्न तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्न पनि सरकारसँग माग गरे।
ओखलढुंगा जिल्लामा समेत विकास, निर्माणका कामहरूमा ढिलाइ रहँदा पनि सरकारले कुनै चासो नदिएको उनको गुनासो थियो ।
सांसद सुनुवारले भने, ‘सरकार बिचौलियाहरूबाट कमाउन व्यस्त छ । नेताहरू चुनावका लागि चन्द संकलनमा मस्त । कर्मचारीहरू कमिसनमा रमाउने, अनि ठेकेदारहरू काम नगरी कमाउने । आजको मुलुकको अवस्था, मुलुकका थिति यहाँ पुगेको छ भन्ने कुरा समाजमा उठ्न थालेको छ । आज जुन ढंगले हामीले गति दिनुपर्ने थियो, हामीले भनेका थियौं– सार्वजनिक खरिद ऐन यो संसदमा ल्याइयोस् । त्यसमा आमूल परिवर्तनको खाँचो छ । राम्रो काम गर्ने पुरस्कार, ढिलासुस्ती र कमजोर काम गर्नेहरूलाई कारबाही हुनु पर्छ भनेर हामीले भनेका थियौं । तर त्यसो हुन सकिरहेको छैन ।ु
सांसद सुनुवारले पुलपुलेसाहरूको आवश्यक व्यवस्था सरकारले मिलाउन नसक्दा पनि आमजनताहरू मारमा परिरहेको बताए ।