७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

खिजीदेम्बाका ६ जना वडा अध्यक्षलाई जरिवाना-अरु कोको परे ?



ओखलढुंगा (रेडियो ओखलढुंगा) । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च विवरण पेश नगर्ने उम्मेदवारहरुलाई कार्वाही गरेका छन् । निर्वाचन आयोगले ओखलढुंगाको खिजीदेम्बामा नेपाली कांग्रेसबाट निर्वाचित ६ जना वडा अध्यक्षहरुलाई जरिवानासहित कार्वाही गर्नेे निर्णय गरेका हुन् ।
उनीहरुलाई जनही १ लाख ५० हजार जरिवाना गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । कार्वाहीमा पर्नेमा वडा नं. २ का अध्यक्ष सुरेन्द्र शंकर घिमिरे, वडा नं. ३ का अध्यक्ष टंकराज सुनुवार, वडा नं. ४ का अध्यक्ष होमबहादुर सुनुवार, वडा नं. ७ का अध्यक्ष डिल्लीराम वस्नेत, ८ का अध्यक्ष नगेन्द्र वस्नेत र वडा नं. ९ का अध्यक्ष ङवाङ फुरी शेर्पा रहेका छन् ।
कांग्रेसबाटै निर्वाचित वडा नं. ५ का राम सुनुवारले भने खर्च विवरण बुझाएका छन् । तर, सोही वडाबाट पराजित वडा सदस्यहरु शुकमाया तामाङ, पुन नारायण श्रेष्ठ, पासाङ शेर्पा र चित्रमाया विश्वकर्मा भने कार्वाहीको सूचिमा छन् । सदस्यहरुले पनि १ लाख ५० हजार नै जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।
गाउँपालिकाबाट जनता समाजवादी पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष गम्बु शेर्पा, कांग्रेसबाट निर्वाचित उपाध्यक्ष सुशिला तामाङले भने खर्च विवरण पेश गरेको देखिन्छ ।
गाउँपालिकामा जनता समाजवादी पार्टीले अधिकांशको विवरण पेश गरेर कार्वाहीबाट जोगिँदा वडा नं. ३ बाट उम्मेदवार बनेकी चित्रमाया श्रेष्ठ भने कार्वाहीको भागेदार बनेकी छन् । जसपाले गाउँपालिकाको ९ वटै वडाको सबै पदमा उम्मेदवार खडा गरेको थियो ।
त्यस्तै, कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भूपेन्द्र वस्नेत, एमालेबाट उम्मेदवार रामबहादुर खत्री र उपाध्यक्षका उम्मेदवार कमला सुनुवार, माओवादीबाट उम्मेदवार चन्द्रमान तामाङ र उपाध्यक्षको उम्मदेवार पासाङल्हमु शेर्पा, स्वतन्त्र उम्मेदवार महेश कुमार कोर्मोचा, उपाध्यक्ष सरीता तामाङपनि कार्वाहीमा परेका छन् । उनीहरुलाई जनही ३ लाख ५० हजार जरिवाना गर्ने आयोगको निर्णय छ ।
उम्मेदवारहरुले ६ महिनाभित्र जरिवाना वापतको रकम बुझाई सक्नुपर्ने नबुझाएमा निर्वाचन आयोग ऐन २०७३ अनुसार कार्वाही गर्ने सूचना जारी गरेको छ । निर्वाचितको हकमा पद खारेजसम्मको कार्वाही हुने जिल्ला निर्वाचन अधिकारी प्रेम न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ३ : ५६ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित