ओखलढुंगा (रेडियो ओखलढुंगा) । जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा ओखलढुंगाको सिद्धिचरण राजमार्ग क्षेत्रको व्यवसाय अनुगमन गरेको छ । जिल्लाको मानेभन्ज्यांग ७ स्थित हर्कपुर क्षेत्रको पसल, होटलको अनुगमन गरेको हो ।
५ वटा होटल, ६ वटा किराना र मोटर्सपार्स पसलमा अनुगमन गरिएको प्रशासकीय अधिकृत जनक वस्नेतले जानकराी दिए । अनुगमनका क्रममा २ वटा पसलमा म्याद गुज्रिएका मसलाजन्य बस्तु फेला परेकोमा बरामद गरी नष्ट गरिएको छ । करीव ९ हजार बराबरको सामाग्री बरामद गरी नष्ट गरिएको उद्योग अधिकृत जितेन्द्र राईले जानकारी दिए । वरामद गरिएको सामाग्रीहरु नविन किराना पसल र सन्ध्या होटल, लज एण्ड किराना पसलका हुन् ।
अनुगमनको क्रममा राजमार्ग क्षेत्रको होटलहरुको खानाको गुणस्तर सन्तोषजनक रहेपनि दर्ता, मूल्यसूची, विक्री खाता नराखेको, भान्साकोठा सफाईमा कम ध्यान दिएको पाइएको मानेभन्ज्यांग गाउँपालिकाका अधिकृत दिलिप मगरले जानकारी दिए । प्रशासनसहितको टोलीले चाडपर्वका समयमा यात्रुहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै अनुगमन गरिएको थियो । व्यवसायीहरुले पनि समयसमयमा अनुगमन गर्दा आफूहरुलाई पनि कानूनी पाटोहरुको पक्ष जानकारी हुने भएकाले निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।