ओखलढुंगा (रेडियो ओखलढुंगा) । जनता समाजवादी पार्टी नेपाल ओखलढुंगाले आसन्न संघ तथा प्रदेशसभामा ओखलढुंगाको कुनै एक क्षेत्रमा आफ्नो शसक्त दावी रहेने जनाएको छ । पाँच दलीय गठवन्धनले सिट बाँडफाँटको टुंगो निष्कर्षमा पुर्याउन लागेको बेला यस्तो धारण सार्वजनिक भएको हो ।
पछिल्लो समय गठवन्धनबाट ओखलढुंगामा संघ र एउटा प्रदेशमा नेपाली कांग्रेस र बाँकी एउटा क्षेत्रमा नेकपा माओवादी केन्द्रलाई दिने चर्चा रहेको बेला जसपाको धारण बाहिर आएको हो । पार्टीको जिल्लामा संगठनको अवस्था सुदृढरहेकोले कुनै एउटा क्षेत्रमा आफ्नो शसक्त दाबी रहने जिल्ला अध्यक्ष खेमराज खड्काले बताए ।
खिजीदेम्बा, मोलुङ, चिसंखुगढी र सिद्धिरचण नगर क्षेत्रमा आफ्नो संगठन बलियो रहेको बताउँदै अध्यक्ष खड्काले दुई वटा मध्ये एकमा जसपाले पाउनुपर्ने अडानबाट पछि नहट्ने दोहोर्याए । त्यस्तै, प्रदेश क्षेत्र नं. (ख) मा मानेभन्ज्याङ, सुनकोसी लगायतका क्षेत्र बलियो रहेको खड्काको भनाइ छ ।
स्थानीय तहको निर्वाचनमा खिजीदेम्बाले सानदार जित हासिल गरेको र अन्य क्षेत्रमा पनि सम्मानजनक मत प्राप्त गरेको अवस्थालाई हेर्दा आफूहरुले एउटा क्षेत्र पाउनुपर्ने अडानबाट पछि नहट्ने जसपाका जिल्ला तहका नेताहरुको दाबी छ ।
नेताहरुले स्थानीय तहको निर्वाचनमा पनि ठूलो भनिएका दलहरुले गठवन्धनको नाममा अन्तिमसम्म झुल्याउने र झुक्याउने काम भएको भन्दै गठवन्धनको नाममा अस्तित्व नामेट हुने गरी बढ्न नसकिने बताएका छन् । आफ्नो संगठन र मतको संरक्षणका लागि पनि आफूहरु कुनैपनि हालतमा निर्वाचनमा उम्मेदवार खडा गरेर अघि बढ्ने बताउँदै अध्यक्ष खड्काले पार्टीले ठूला नेतालाई स्थान सुनिश्चित गर्ने नाउँमा जिल्लालाई उपेक्षा गरिए स्वतन्त्र उम्मेदवारी दिएरै भएपनि मतदाताको सम्मानमा अघि बढ्ने दृढता व्यक्त गरे । प्रदेश नम्बर १ का अन्य जिल्लामा गठवन्धन भइ रहँदा ओखलढुंगामा एकल रुपमा उम्मेदवारी दिँदा सान्दार जित भएको नविर्सिन अध्यक्ष खड्काले अन्य दल र पार्टीका नेतालाई आग्रह गरे ।
पार्टी स्थापनाको छोटो समयमै निर्वाचनमा सहभागि भएर २०७० सालमा सम्मानजनक मत प्राप्त गरेको र त्यसयताका सबै निर्वाचनमा सहभागि भएर सम्मानजनक मत प्राप्त गरीरहेकाले यस पटकको निर्वाचनमा पनि आफूहरु स्वतस्फूर्त सहभागि हुने जसपा नेताहरुको धारण छ । गठवन्धनले अस्तित्व नस्वीकार्ने अवस्थामा आफूहरु पनि झुक्न नसक्ने अडानमा नेताहरु छन् ।
जसपाले स्थानीय तह निर्वाचनमा एक गाउँपालिकासहित २ वटा वडासहित १६ जनाले जित निकालेका छन् । खिजीदेम्बा र चिसंखुगढीमा जसपाले जित निकालेको हो ।
आसन्न निर्वाचनका लागि जसपाले प्रत्यक्षतर्फ प्रतिनिधीसभामा केन्द्रीय सदस्य जुद्धबहादुर राई, प्रदेश (क) मा खेमराज खड्का र नवराज गुरुंग र प्रदेश (ख) मा प्रभुराज श्रेष्ठ र दीपेन्द्र रुम्दालीलाई उम्मेदवार बनाउने गरी सिफारिस गरेको छ ।