२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

मोलुङका स्थानीय भन्छन् ‘बाटो विग्रियो, नेताको ध्यान गएन, दुख पायौं ।’



ओखलढुंगा (रेडियो ओखलढुंगा) । मोलुङ गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुले सडक मर्मत नहुँदा सास्ती खेप्नु परेको छ । वडा नं. ६ को यान्दा, खोलाखर्क र वडा नं. ७ जोड्ने सडक मर्मत नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको हो ।
वृद्धाभत्ता बुझ्न, तलव निकासा गर्न गाउँपालिका केन्द्र प्राप्चा पुग्ने एक मात्रै सडकको मर्मत र सफाई नहुँदा घण्टौं हिड्न सर्वसाधारण वाध्य छन् । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने असहाय, अपांग, बृद्धहरुलाई बोकेर बैंकसम्म पुर्याउँनु पर्दा सास्ती खेप्नु परेको वडा नं. ७ का अम्बर बहादुर कार्कीले गुनासो गरे ।
बर्षातको समयमा बाटोमा पहिरो जाने, खाल्डाखुल्डीका कारण सवारी आवातजावत ठप्पप्राय हुन्छ । नजिकैको अन्य क्षेत्रमा बर्षातमै पनि स्थानीय सरकारको सक्रियतामा वाटो मर्मत गरेर नियमित सवारी सञ्चालन भएपनि यहाँ त्यसो हुन नसक्दा सामान्य कामको लागि दुई दिन लगायत हिँड्नुपर्ने वाध्यता रहेको बालबालिका आधारभूत विद्यालयका शिक्षक इन्द्र खत्रीले जानकारी दिए । स्थानीय सरकारले बाटो सफाईमा तत्काल ध्यान दिनुपर्नेमा खत्रीको जोड छ ।
यता, वडा नं ७ का अध्यक्ष हेमबहादुर सुनुवारले भने बाटो सफाई गरेपनि निरन्तर पानी झरीका कारणले भत्किने, बगाउने समस्या भएकाले बाटो मर्मत गर्न नसकिएको बताउनुभयो । सामाजिक सुरक्षा भत्ता केही समयपछि वडामै गएर वितरण गर्ने लक्ष्य लिइएको सुनुवारको भनाइ छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ३ : ४५ बजे