ब्रेकिङ न्युज

मोलुङमा आमा सुरक्षा कार्यक्रमः निःशुल्क गर्भवती भिडियो एक्सरे   |  ‘अर्ग्यानिक’ खानेकुरामा जोड दिन सामुदायिक विद्यालयमा चमेनागृह   |  पाँच लाख राशीको पसी शेर्पा स्मृती भलिबल आफ्नै खेलमैदानमा   |  दावा एग्रो टुरीजम रिसोर्टमा आगलागीः एक करोडको क्षती   |  चित्रेका युवाहरुलाई शिली नृत्य प्रशिक्षण   |  खिजिदेम्बामा सोनाम ल्होसारको शुभकामना आदानप्रदान   |  मोलुङ हाईड्रोको शेयर भर्ने म्याद थप   |  विपन्न परिवारलाई जाडो छल्न कम्बल   |  

Single Image

सेतो टीका किराँतहरूको पवित्रताको प्रतीक हो : भोगीराज चाम्लिङ

  • प्रकाशित मिति: २७-आश्विन-२०७९ ३:१७
  • रेडियो ओखलढुंगा
सेतो टीका किराँतहरूको पवित्रताको प्रतीक हो : भोगीराज चाम्लिङ

  –मुन्धुम लोकसाहित्य जस्तै हो ? हो, ठ्याक्कै लोकसाहित्य जस्तै हो । त्यसको लिखित रूपमा भेटिँदैन, मौखिक रूपमा शास्त्रीय स्वरूपमा रहेको हुन्छ । यो अहिले बनेको होइन, प्राचीन कालको हो ।   –किराँतहरूको संस्कृतिको अध्ययन गर्दैछु भन्नु भयो, मुन्धुममा दसैँ कहीँ फेला पर्यो कि परेन ? दसैँका बारेमा मुन्धुममा ठ्याक्कै उल्लेख भएको पाइँदैन । अनि यो समयको दसैँसँग सम्बन्धित हाम्रो मौलिक संस्कृति पनि केही हुँदैन यो बेलामा । तसर्थ किराँतले दसैँ हाम्रो सांस्कृतिक सम्बन्धबाट आर्जन गरेको चिज रहेछ । आर्य र खस समुदायसँग किराँतहरूको भेटघाट, सम्पर्क भयो र उनीहरूको चाडबाड मनाए, हामीले त्यो देख्यौँ, सिक्यौँ । ती चाडलाई राज्यले पनि प्रोत्साहन गरेकाले पनि हामीले अलि बढी सिक्यौँ । यसकारण हामीले दसैँ मनाउन पछि सिकेका रहेछौँ । –दसैँ कसरी मनाउँदै हुनुहुन्छ ? मेरो दसैँ पनि सर्वसाधारण नेपालीहरूले मनाएको जस्तै हो । तर हिजो हामी सानो हुँदा दसैँलाई महसुस गर्ने, मनाउने तरिकाबारे सोच्यौँ भने यसको ‘चार्म’ निकै थियो । त्यो चाहिँ अहिले छैन । यस्तो हुनुका दुई तीनवटा कारण छन् । एउटा नेपाली समाजमा सांस्कृतिक पुनर्जागरण आएको छ । यसले मान्छेलाई मेरो मौलिकता, आफ्नोपन र खासमा म को हुँ भनेर खोज्दो रहेछ । यो सांस्कृतिक अभ्यासमा पनि खोज्दो रहेछ अहिले । त्यसरी हेर्दा उसले आफ्नो संस्कृति यो पो रहेछ भनेर महसुस गर्छ । अनि यसलाई प्रोत्साहन गर्ने, जोगाउनेतर्फ लाग्दो रहेछ भनेर उसलाई दायित्वबोध अलि बढी हुँदो रहेछ । सांस्कृतिक पुनर्जागरणको महत्त्वपूर्ण पाटो त्यो रहेछ । यी कारणले गर्दा हिजो दसैँ जुन प्राथमिकताका साथ मनाइन्थ्यो, अहिले अलि कम जस्तो महसुस भएको छ । –बाल्यकालमा कस्तो थियो तपाईंको दसैँ ? पहिले गाउँमा बजार, हटिया थिएनन् । नयाँ कपडा लगाउने समय नै दसैँ थियो । एउटा दसैँमा किनेको कपडा अर्को दसैँसम्म लगाइन्थ्यो, च्यातियो भने पाँच ठाउँ टालेर भए पनि । दसैँमा नयाँ कपडा लगाउन पाइने हुँदा एउटा खुसियाली आउँथ्यो । दोस्रो दसैँसँग हाम्रो खानपानको संस्कृति पनि जोडिएको छ । त्यतिबेला खानपानको दुःखै हुन्थ्यो । हाम्रो खोटाङको हलेसी सुक्खा क्षेत्र भएकाले चामलको कमी हुन्थ्यो । अनि दसैँ आयो भनेपछि मासु अलिक दिन पुगुन्जेल खान पाइने, धानको चामलको भात खान पाइने हुन्थ्यो । त्यसैले दसैँ हामीलाई खानपानको उत्सव जस्तो लाग्थ्यो । तेस्रो, दसैँमा टीका लगाएर दक्षिणा दिने चलन जुन छ, त्यो हाम्रो आर्थिक सम्बन्धसँग जोडिएको रहेछ । यसले गर्दा दसैँ आउनासाथ हामी बडो उत्साहित हुन्थ्यौँ । किनभने दसैँमा हामीसँग १०, २० रुपियाँ भए पनि आफ्नै निजी पैसा हुन्थ्यो । त्यो पैसाले हामी मिठाइ खान्थ्यौँ, केही रमाइला सामान किन्थ्यौँ । त्यो बेलाको हाम्रो दसैँ नयाँ कपडा, आफन्तकोमा जाने, केही पैसा कमाउने हुन्थ्यो । अर्को दसैँ भनेको सामाजिक सम्बन्धका हिसाबले एकदमै राम्रो हुन्थ्योे । दसैँ भनेपछि सबै नातागोता भेट हुने, त्यो भेटघाटको माहोलले गर्दा त्योबेलाको दसैँको आकर्षण, रौनक अर्कै थियो त्यो बेला ।   अहिले आफ्नो संस्कृतिको पुनर्जागरणले आफ्नो संस्कृति जोगाउने दायित्व बोध भएको छ । हामी दसैँमा जे जे कुरा पाउँथ्यौँ, त्यसका लागि दसैँ कुर्नु नै पर्ने परेन अब । बजार अहिले घर घरमा छन् । मीठो, मसिनो खान, नयाँ लुगा लगाउन दसैँ नै कुर्नु परेन । दुई चार पैसाका लागि हामीले दसैँ कुर्न परेन, सामाजिक भेटघाटका निमित्त चाडपर्व कुर्न परेन, सामाजिक सञ्जालको विकासले गर्दा मान्छे क्षण क्षणमै भेटघाट भइरहन्छ । यी कारणले पहिलेको जस्तो अहिलेका दसैँ जस्ता चाडपर्व कम उत्साहित देखिन्छ । –किराँतमा टीका लगाउने विधि कस्तोे छ ? अहिले अलिकति परिवर्तन भएको छ । पहिले पहिले रङसहितको रातो टीका नै लगाउने चलन अलि बढी थियो । पछि सांस्कृतिक पुनर्जागरण हुँदै जाँदा किराँतहरूले दसैँसँग जोडिएको धार्मिक कथाको अध्ययन गर्न थाले । असुर (दानव)लाई सूर (देवताहरू)ले मारेको, देवीले महिषासुरलाई मारेको र उसको रगतमा अक्षता मुछेर रातो टीका लागाएको भन्ने जुन धार्मिक व्याख्या आयो, त्यसपछि अब हामीले रातो होइन, सेतो टीका लगाउनुपर्छ भन्ने भयो । अहिले आएर सेतो टीका मात्र लगाउने चलन छ । –सेतो टीका लगाउनुको केही प्रतीकात्मक अर्थ छ त ? सेतो टीका किराँतहरूको पवित्रताको प्रतीक हो । हामीकहाँ दुई थरी धामी हुन्छन् । एउटा मरेको आत्मालाई बाटो लगाउने धामी, अर्को पितृकार्य गर्ने धामी हुन्छ । पितृकार्य गर्ने धामीले पहेँलो कपडा लगाउनुपर्छ । तसर्थ पहेँलो पितृकार्यको रङ भयो ।   अनि त्यो सेहेँ मार्ने धामीले सेतो कपडा लगाउँछ । उसले सेतो रङ प्रयोग गर्छ । त्यसैले हाम्रो सांस्कृतिक सम्बन्ध भएकाले पनि सेतो टीका प्रयोग गर्न थालेका छौँ । –हातहतियारको पूजा, मौलोमा राँगा, हाँस, सुँगुरको बलि दिई पूजा गर्ने चलन पनि होला नि ? पहिले पहिले हामीकहाँ मौलो पूजा थियो, अहिले छोडेका छन् । जहाँ जहाँ गढीहरू छन्, ती ठाउँमा मौलोको पूजा गरिन्थ्यो । मौलो पूजा गर्दा त्यसको अगुवाइ तालुकदार (रैतीबाट मालपोत असुलउपर गरी मालमा दाखिल गर्ने र तालुकदारी, ऐन–सवालबमोजिम काम गर्ने व्यक्ति)हरूले गर्थे । गढी छ भने त्यसको छेउमा, नभए सबैलाई पायक पर्ने ठाउँमा मौलो स्थापना गर्ने र त्यो मौलोमा पूजा गर्ने प्रचलन रहेछ त्यो बेलामा । हातहतियार जम्मा गर्ने, मालश्री धुन बजाउने, संस्कृतका पुस्तक पढ्ने, राँगा काट्ने गरिँदो रहेछ । त्यो राँगाको मासु खानका लागि सबै गाउँलेहरूलाई उर्दी जारी गर्ने चलन रहेछ । उर्दी नगर्दा पनि सरकारकै तर्फबाट राँगा काटेर वितरण गर्ने हुँदा मान्छे त्यसै पनि आउने रहेछ, त्यो बेलामा । त्यसैले मौलो पूजा सांस्कृतिक सत्ताको प्रतिबिम्ब रहेछ । मौलो गडेपछि मौलोको मासु अनिवार्य रूपमा हरेक घरघरमा लानुपर्ने रहेछ, लगेन भने कारबाही हुने रहेछ । मौलोको मासु अर्थात् फूलपातीका दिनको मासु घर लिएर जानु भनेको सत्तालाई अर्थात् त्यो राज्यलाई स्वीकार गर्नु, त्यो राज्यको संस्कृतिलाई स्वीकार गर्नु रहेछ । त्यो नखानु भनेको त्यसलाई उल्लङ्घन गर्नु भन्ने रहेछ । त्यसैले त्यो मौलो किराँतको मौलिक संस्कृति नभई त्यतिबेलाको सत्ताले सांस्कृतिक सत्तालाई स्थापित गर्ने सिम्बोल रहेछ । किराँत संस्कृतिमा यो मौलो र सेउलो भन्ने दुईवटा पूजा छन् । मौलो राजाको हुन्छ भने सेउलो जनताको हुन्छ भन्ने छ । साकेला पूजा (भूमि पूजा) गर्नुपर्यो भने सेउलो गाड्ने प्रचलन छ । सेउलो भनेको कटुस प्रजातिको एउटा रुख हो, जसलाई मेरी पनि भनिन्छ । त्यो मेरी तालुकदारको घरमा गाडिन्थ्यो । तालुकदारले आफ्नो घरमा मेरी गाड्यो भने त ऊ राजा बराबर हुन्थ्यो, उसले त्यो गर्न पाउँदैन । त्यसैले राजाको घरमा मौलो रैतीको घरमा सेउलो भन्ने चलन छ । सेउलो किराँती जनतासँग जोडियो, मौलो सत्ताको प्रतिनिधि अथवा सत्तासँग जोडियो । सेउला साकेला पूजा गर्दा उधौली उभौली पूजामा गाडिन्छ । फेरि राज्यले के गरिदियो भने सेउलो तालुकदारकै घरमा गाड्ने बनाइदियो । जनताले सेउलो गाड्दा पनि राजाकै प्रतिनिधिलाई मान्नुपर्ने बनायो । दसैँ मनाउँदा पनि र आफ्नो चाड मनाउँदा पनि राज्यकै प्रतिनिधिलाई मान्नुपर्ने बनायो । सेउलो र मौलो दुवै राज्यको आफ्नौ हैकम स्थापित गर्ने माध्यमका रूपमा प्रयोग भएको छ । यी दुवै पर्व नेपाल एकीकरणपछि प्रचलनमा आएका देखिन्छन् । किनभने यही समयदेखि तालुकदार, जिम्वालहरूको प्रचलन बसेको हो । बलि दिने बारेमा किराँत संस्कृतिमा कुनै मिथक छ त ? काटमारका बारेमा किराँत संस्कृतिमा रोचक पक्ष छ । नवमीको दिन विशेष भयो । दसैँ मान्न राणाहरूले उर्दी दिन्थे । कसले मान्यो, कसले मानेन भनेर थाहा नहुने भएकाले हरेकको घरमा खुट्टा या हातको पञ्जाको छाप हुनुपर्छ भनेर उर्दी जारी गरेको रहेछ, दसैँ मनाएको प्रमाणका रूपमा ।   जस्तो कि राईहरूले नवमीको दिन सुँगुर काट्ने भए । त्यो सुँगुर काटेपछि रगतमा हात वा खुट्टा भिजाएर ढोकामा छाप हान्नुपर्ने रहेछ । त्यो छाप छ भने उसले दसैँ मनायो, नभए मनाएन । हरेकलाई दसैँ मनाउनुपर्छ, भोग दिएको छाप राख्नुपर्छ, नभए कारबाहीको भागीदार हुनुपर्छ भनेर उर्दी राणाहरूको रहेछ त्यो बेलामा । त्यो हेर्ने जिम्मा तालुकदारलाई दिइएको रहेछ । तालुकदारले पनि राणासँग सम्बन्ध कायम राख्न पनि त्यसको अनुगमन गरेर रिपोर्ट गथ्र्यो । यसरी किराँतहरूमा दसैँमा भोग दिने, बलि दिने प्रचलन बसेको रहेछ । –एक पटक त गोरेबहादुर खपाङ्गीले दसैँ बहिष्कार अभियानै चलाए । त्यसलाई केही जनजाति समुदायले सहयोग पनि गरे । तर, पछि मन्त्री भएपछि राजा ज्ञानेन्द्रकै हातबाट दसैँमा टीका लगाए । दसैँ बहिष्कार कत्तिको उपयुक्त हो ? बहिष्कार भन्ने कुरा आफैँमा राम्रो कुरा होइन । किनभने तपाईंको संस्कृति मैले बहिष्कार भनेछु भने हाम्रो सामाजिक सद्भाव पनि विग्रन्छ । साकेला मनाउनु हुँदैन भन्नुभयो भने मलाई त्यति मजा लाग्दैन नि । त्यसैले कसैको चाड बहिष्कार गरौँ भन्ने कुरा सामाजिक सद्भावमा मिल्ने कुरा होइन । तर पञ्चायत कालमा गोरेबहादुर खपाङ्गीले किन त्यो नारा लगाए भन्ने कुरा भने महत्त्वपूर्ण छ । त्यस्तो नारा लगाउनेले फेरि राजाको हातको टीका लगाए । यसको कनेक्सन देख्छु म । नेपालको सांस्कृतिक विविधता राजतन्त्रको महत्त्वपूर्ण औजार थियो । त्यो विविधता तागतदार भयो भने उसलाई चुनौती थियो । त्यसैले राजतन्त्र हाम्रो सांस्कृतिक विविधता खण्डित गर्न चाहन्थ्यो । आफू आपसमा लड्न थालेपछि राजतन्त्रको विरोध नहुने भयो । त्यसैले सामाजिक विखण्डन ल्याएर निरङ्कुशता कायम राख्नका लागि ल्याइएको थियो । त्यो नीतिको हतियार हाम्रा गोरेबहादुरहरू भए । –नेपालजस्तो बहुभाषिक, बहुसांस्कृतिक देशमा दसैँले सामाजिक अवस्थामा कस्तो प्रभाव पार्छ ? दसैँ जस्ता चाड र हाम्रा समुदायगत चाडलाई दुई तरिकाले व्यवस्थापन गर्नुपर्छ । सङ्घीयता आइसकेपछि र अहिलेको संविधानले एउटा राम्रो काम के गरेको छ भने कम्तीमा मैले मनाउने चाड पनि राज्यको नजरमा परिसकेको छ । साकेला पूजा, उधौली उभौली मनाउनेहरूलाई एक दिन भए पनि बिदा दिइन्छ । यो भनेको राज्य हाम्रो संस्कृतिलाई स्वामित्व ग्रहण गरेको हो । तर अहिले पनि के हुन्छ भने साकेलाको एक दिन मात्र बिदा हुन्छ । तर दसैँ हामी पाँच दिन मनाउँछौँ । अझै पनि हाम्रो संस्कृतिलाई समान रूपमा राज्यले हेर्न सकेको छैन । यदि दसैँमा पाँच दिन बिदा दिने हो भने साकेला मनाउन पाँच दिनै दिँदा आआफ्नो ठाउँमा गएर मनाउन सक्थे । त्यसैले राज्यले समान रूपमा व्यवहार गर्न सकेको छैन । यदि समान रूपले बिदा दिन सकियो भने दसैँ सद्भावको पर्व हुन्छ, साकेला मेरो मौलिक चाड हुन्छ । अब दसैँलाई सद्भावको चाडका रूपमा विकास गर्नुपर्छ । त्यसका लागि ल्होसार, साकेला जस्ता चाडलाई दसैँ जत्तिकै महत्त्व दिने भने गुनासो राख्ने स्थिति आउँदैन । दसैँप्रति सामाजिक सद्भाव पनि बढ्दै जान्छ । यस्ता ठूल्ठूला चाडहरूलाई राष्ट्रिय सद्भावका पर्वका रूपमा विकास गर्नुपर्छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top