ब्रेकिङ न्युज

मोलुङमा आमा सुरक्षा कार्यक्रमः निःशुल्क गर्भवती भिडियो एक्सरे   |  ‘अर्ग्यानिक’ खानेकुरामा जोड दिन सामुदायिक विद्यालयमा चमेनागृह   |  पाँच लाख राशीको पसी शेर्पा स्मृती भलिबल आफ्नै खेलमैदानमा   |  दावा एग्रो टुरीजम रिसोर्टमा आगलागीः एक करोडको क्षती   |  चित्रेका युवाहरुलाई शिली नृत्य प्रशिक्षण   |  खिजिदेम्बामा सोनाम ल्होसारको शुभकामना आदानप्रदान   |  मोलुङ हाईड्रोको शेयर भर्ने म्याद थप   |  विपन्न परिवारलाई जाडो छल्न कम्बल   |  

Single Image

झुट बोल्नु मनोरोगको उपज हो

  • प्रकाशित मिति: ०४-कार्तिक-२०७९ १०:२६
  • रेडियो ओखलढुंगा
झुट बोल्नु मनोरोगको उपज हो

मान्छेले किन झुट बोल्छन् ? हल्काफुल्का लाग्ने यो प्रश्नले मान्छेको यस्तो अनौठो प्रवृत्ति देखाइदिन्छ, जुन उनीहरुले सधैं ढाकछोप गर्न चाहन्छन् । किनभने यस्तो प्रवृत्तिलाई मान्छेले ‘खराब’ भनी लाहाछाप लगाइसकेका छन् । अर्थात् मान्छेहरु दृढतापूर्वक भन्न सक्छन्, ‘झुट बोल्नु हुँदैन । यो खराब चिज हो ।’ पौराणिक शास्त्रदेखि ठूलाबडाको अर्ती-उपदेशमा ‘झुट बोल्नु पाप हो’ भनिन्छ । तर के यो धर्तीमा यस्ता मान्छे होलान्, जसले झुट बोल्दैनन् । विभिन्न अध्ययनले भन्छ, ‘जीवनकालमा मान्छेले कैयौं झुट बोल्छन् ।’ झुट बोल्नुलाई मान्छेको नैसर्गिक गुण नै हो भनेर बताउँछन् मनोविश्लेषक बासु आचार्य । साथै उनी के पनि भन्छन् भने सबै अवस्थामा झुट बोल्नु ‘खराब’ वा ‘पाप’ होइन ।

झुटको वर्गीकरण

  झुटलाई पनि वर्गीकरण गर्न सकिने मनोविश्लेषक आचार्य बताउँछन् । ‘परिस्थितिअनुसार झुट पनि फरक-फरक किसिमको हुन्छ । कति झुटले मान्छेलाई सहज बनाउँछ भने कति झुटले एकदमै असहज पनि,’ उनी भन्छन् । कहिले आफूलाई अप्ठेरो परिस्थितिबाट बाहिर ल्याउन, कहिले अरुको मन बुझाउन, कहिले आफ्नो स्वार्थ पूरा गराउन, कहिले गालीगलौचबाट बच्न, कहिले अरुप्रति आफूलाई राम्रो देखाउन मान्छेले झुट बोल्छन् । कतिपयले अरुलाई अप्ठेरोमा पार्न, अरुको चरित्र हत्या गर्न, अरुलाई फसाउन झुट बोल्छन् । ‘यी परिस्थितिले पैदा गर्ने झुट हुन्,’ मनोविश्लेषक आचार्य भन्छन्, ‘कतिपयमा चाहिं झुट बोल्ने बानी नै हुन्छ ।’ यस्ता व्यक्तिले सामान्य कुरामा पनि झुट बोल्छन्, जो जरुरी नभएको अवस्थामा पनि ।

झुटको मनोविज्ञान

पौराणिक कथाहरुमा पनि झुटको प्रसंग समेटिएको छ । महाभारतकालमा सत्यवादी राजा भनेर चिनिएका युधिष्ठिरले समस्या समाधान गर्न झुट बोलेको उल्लेख छ । मान्छेलाई जन्मिंदै सिकाइन्छ, झुट बोल्न हुँदैन । तर अबोध बच्चाले पनि आफूलाई जोगाउनका लागि झुटको सहारा लिन्छन् । ‘तिमीले यो खेलौना फुटाएको हो ?’ भनेर सोधियो भने बच्चाले टाउको हल्लाएर ‘होइन’ भन्ने संकेत गर्छ । मनोचिकित्सक आचार्य भन्छन्, ‘यो मान्छेले जन्मिंदा आफूसँगै ल्याउने एक किसिमको गुण हो । कतिले यसलाई परिस्थितिजन्य प्रयोग गर्छन् भने कतिले बानीकै रुपमा विकास गर्छन् ।’ मनोवैज्ञानिकका अनुसार यो एक ‘सेल्फ सर्भिङ ह्युमन टेन्डसी’ अर्थात् ‘आत्मरक्षा गर्ने मानवीय प्रवृत्ति’ हो । अक्सर मान्छेले बाध्यतामा परेर झुट बोल्छन् । आफ्ना गल्ती ढाकछोप गर्न झुट बोल्नैपर्ने स्थितिमा पुग्छन् । ‘कसैले आफूलाई अगाडि बढाउन झुटको सहारा लिन्छन्,’ मनोचिकित्सक आचार्य भन्छन्, ‘कसैले अरुलाई पछाडि धकेल्न ।’

झुट लुकाउन झुट

एउटा गीत नै छ, ‘सयौं झुट बोल्नुपर्छ एउटा झुट लुकाउन ।’ मान्छे झुटको गोलचक्करमा यसरी फस्छन् कि झुट बोल्नैपर्ने बाध्यता आइलाग्छ । व्यावहारिक जीवन जिउने क्रममा मान्छेले कतिपय गल्ती गर्छन् । जानेर वा नजानेर गरिएका यस्ता गल्तीलाई मान्छेले सहज स्वीकार्न सक्दैनन् । त्यसबेला उनीहरुले झुट बोल्नुपर्ने हुन्छ । यसरी एउटा झुट लुकाउन मान्छेले अर्को झुट बोल्छन् । झुट बोल्दाबोल्दै कतिपयमा त झुट बोल्ने स्वभाव नै बन्छ । ‘खासमा मान्छेले आफूलाई सहज बनाउन वा असहज स्थितिबाट बाहिर आउन झुट बोल्छन्,’ मनोचिकित्सक आचार्य भन्छन्, ‘जब मान्छे यसैमा अभ्यस्त हुँदै जान्छन्, तब उनीहरुले अरुलाई फसाउन पनि झुट बोल्न थाल्छन् ।’

झुट बोल्ने बानी पर्सनल डिसअर्डर

यो धर्तीमा खोज्दै जाने हो भने यस्ता व्यक्ति भेटिंदैनन्, जसले झुट बोलेकै छैनन् । यस्ता व्यक्ति पनि भेटिंदैनन् जसले जीवनकालभर एउटै झुट बोलेका छैनन् । सामान्य स्थितिमा अरुको हानि नहुने किसिमले बोलिने झुटलाई मनोचिकित्सकहरुले ‘टेक्निकल झुट’ भनेका छन् । ‘यो भनेको तपाईं-हामी सबैले कुनै न कुनै अवस्थामा बोलिने झुट हो,’ मनोचिकित्सक आचार्य भन्छन्, ‘समय परिस्थितिअनुसार यस्तो झुट बोल्नु सामान्य हो । साथै यस्ता झुटले अरुलाई हानि नोक्सानी गर्दैन ।’ यद्यपि परिस्थितिजन्य झुट बोल्ने भन्दा पनि कतिपयमा प्रवृत्तिगत झुट बोल्ने बानी हुन्छ । उनीहरु त्यस्ता कुरामा पनि झुट नै बोल्छन्, जहाँ झुट बोलिरहनुपर्ने आवश्यकता हुँदैन । सानोतिनो कुराकानीमा उनीहरु केही न केही झुट बोल्छन् । कतिले त झुटको खेती नै गर्छन् । यस किसिमको प्रवृत्ति भएकाले कहिलेकाहीं अरुलाई नराम्ररी फसाउन सक्ने आचार्य बताउँछन् । ‘झुट बोल्ने बानी भएकाले धेरै कुरामा छलकपट गर्न सक्छन्,’ उनी भन्छन्, ‘त्यसैले यस्ता व्यक्तिसँग सतर्क रहनुपर्छ ।’ विनाकारण झुट बोल्नु मान्छेको असामान्य गुण भएको मनोचिकित्सक आचार्य बताउँछन् । यस किसिमको प्रवृत्ति धेरैतिर हुन्छ, समाजमा, घरमा । यसरी झुट बोल्ने बानी भएकाहरुलाई मनोचिकित्सकहरुले ‘पर्सनल डिसअर्डर’ भनेका छन् । महिर्षी चरकले आचार रसायनमा भनेका छन्, ‘सत्यवादी, क्रोधमुक्त, मन, कर्म र वचनमा अहिंसा र वियनको पालनाले मानिस शारीरिक, मानसिक र आध्यात्मिक रोगबाट मुक्त रहन्छ । सत्य र सद्गुण जस्ता तत्वलाई त्याग्दा मान्छे अनेकौं रोगको सिकार हुन्छन् ।’

झुटको खेती

कतिपय पेसा वा क्षेत्र यस्ता हुन्छन्, जहाँ झुट बोल्नु सामान्य लाग्छ । जस्तो कुनै व्यापारीले आफ्नो सामानलाई बढाइचढाइ गरेर बिक्री गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा उनीहरुले ग्राहकसँग झुट बोल्छन् । सबैभन्दा बढी झुटको खेती हुने क्षेत्र भनेको राजनीति हो । खासगरी नेताहरु आफ्नो अभिष्ट पूरा गराउन झुटैझुटको सहारा लिन्छन् । क्रूर तानाशाह हिटलरका प्रचारमन्त्री जोसेफ गोयबल्स त कतिसम्म भन्थे भने ‘कुनै पनि झुट सयपटक बोलेपछि त्यो साँचो हुन्छ ।’ राजनीतिमा गोयबल्स चरित्र एकदमै हाबी हुने गर्छ । खासगरी चुनावी अभियानमा नेताहरु अरुलाई होच्याउन, आफूलाई चोख्याउन र जनतालाई झुक्याउन झुट बोल्छन् ।

झुट बोल्ने व्यक्तिको स्वास्थ्य समस्या

जुन व्यक्ति बढी झुट बोल्छन् वा झुट बोल्ने बानी हुन्छ, उनीहरुमा मानसिक मात्र होइन कुनै न कुनै स्वास्थ्य समस्या हुन्छ । अमेरिकास्थ्ति युनिभर्सिटी अफ नोट्रे डेमका अनुसन्धानले यसै भनेको छ । उक्त अनुसन्धान अनुसार धेरै झुट बोल्नेहरु तनाव, थकान, टाउको दुख्ने जस्ता समस्याबाट ग्रसित हुने गरेका छन् । तीन हजार मान्छेमा गरिएको यो अध्ययनको निष्कर्ष थियो, सत्य बोल्ने मान्छेहरु शारीरिक रुपमा पनि चुस्त-तन्दुरुस्त हुन्छन् । यस्तै युनिभर्सिटी अफ क्यालिफोर्नियाको अनुसन्धानले झुट बोल्ने मान्छेहरु सधैं तनावग्रस्त हुने देखाएको छ । उनीहरुमा उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोग पनि हुने बताइएको छ ।


मनिषा थापा

तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top