२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

ओखलढुंगा निर्वाचनः पुरानै अनुहारबाट नयाँ आशा



ओखलढुंगा (रेडियो ओखलढुंगा) । पुरानै प्रतिस्पर्धीबीचको चुनावी चटारोले यतिखेर ओखलढुङ्गामा निर्वाचनको माहोल तातेको छ । प्रदेशसभाका लागि भन्दा पनि धेरैको आँखा यसपटक प्रतिनीधि सभातर्फ केन्द्रित छ । पुरानै प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएकाले पनि एक अर्कालाई कम आक्न सक्ने अवस्था छैन । कार्यशैली र जनताबीच परिचित दुबै अनुहार मध्ये कुनै एकलाई सजिलै पन्छाउन मतदातालाई सजिलो छैन ।
त्यसमा पनि दुबै उम्मेद्वार ओखलढुङ्गेली जनताबाट परीक्षित हुन । दोस्रो संविधानसभा सदस्यमा संगै निर्वाचित यी दुइ नेता मध्ये वाम गठबन्धनको साथ पाएसँगै यज्ञराज सुनुवारले दोस्रो कार्यकाल पनि सांसदको रुपमा सदनमा प्रतिनीधित्व गर्नुभएको छ । सुनुवार आफूले यसबीचमा गरेका काम र स्वच्छ छविका कारण जितको विकल्प नभएको जिकिर गर्नुहुन्छ । आफूले थालेका कामको पुर्णता तथा १० बर्षको अनुभवबाट जिल्लालाई थप समृद्ध बनाउन आफ्नो उम्मेद्वारी भएको उहाँको भनाई छ ।

उता, दोस्रो पटक २०७४ को आम चुनावमा वाम गठवन्धनबाट आफूलाई पराजित गर्न सफल सुनुवारसँगको प्रतिस्पर्धा खतिवडाका लागि त्यति सहज छैन । तर, यसअघिको हारको बदला दिने अवसरको रुपमा सदुपयोग गर्न प्रयासरत कांग्रेस उम्मेद्वार रामहरी खतिवडा यसअघि सुनुवारलाई नै साथ दिएको तत्कालिन वाम गठवन्धनको दल माओवादी केन्द्रको साथ पाएपछि केही ढुक्क देखिन्छन् । हारपछि पनि आफूले जनताको साथ कहिल्यै नछोडेकोले अब जनताको रोजाईमा पर्ने खतिवडाको तर्क छ ।
त्यसो त, यसअघि कम्तिमा कम्युनिष्ट नामधारी पार्टीको गठबन्धनका कारण पनि एक अर्कालाई सबै भोट निर्धक्क जानेमा सबै आसावादी थिए र सो आशामा त्यति ठूलो संकटपनि देखिएन । तर, यसपटक विचारको हिसावले धेरै फरक दलबीचको गठबन्धनलाई स्वीकार गरेर नागरिकले सहजै गठबन्धनका उम्मेद्वारलाई भोट हाल्छन भन्नेमा ढुक्क हुन सक्ने अवस्था नरहेको धेरैको बुझाई छ । त्यतिमात्रै होइन केन्द्रमा स्थापित दुई युवा नेताको चुनावी प्रतस्पिर्धालाई कतिपयले विकल्प विनाको लडाँइको रुपमा चित्रण गरेका छन्।
तर, दुवै नेता एक पटक परीक्षण भइसकेकाले पनि दुइमध्ये एक छान्नुपर्ने बाध्यतामा जिल्लाबासीमा रहेको ठानिएका बेला जनता समाजवादी पार्टीका तर्फबाट उम्मेद्वार बनेका जनता समाजवादीका प्रतिनीधि सभा उम्मेद्वार जुद्धबहादुर राई ढाक्रेलाई पनि कम आँक्न नमिल्ने जसपाका नेताहरुको दाबी छ । खिजीदेम्बा गाउँपालिकामा कांग्रेसको गड भत्काएको जसपाले आगामी संघ तथा प्रदेशको चुनावमा पनि चमत्कार गर्ने सो पार्टीका नेताको अपेक्षा छ ।
जो होस् केन्द्रिय स्तरमै राम्रो प्रभाव देखाएका दुइ उम्मेद्वारको विगतलाई हेर्दा २०७४ सालको प्रतिनीधि सभामा एमाले र माओवादीको गठबन्धनका साझा उम्मेदवार सुनुवारले कांग्रेसका एकल उम्मेद्वार खतिवडालाई ५ हजार भन्दाबढी मतले हराउनु भएको थियो । सुनुवारले ३२ हजार ५ सय ८० मत पाउँदा खतविडाले २७ हजार ३ सय २७ मत पाउनु भएको थियो । तर, गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस चारवटा स्थानीय तहमा विजयी हुँदा एमाले, माओवादी र जसपाले एक–एक स्थानीय तह जितेका छन भने मानेभञ्याङ गाउँपालिकामा कांग्रेसको सहयोगमा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन । यसलाई हेर्दा वडा तहमा पाएको मतको आधारमा कांग्रेस पहिलो स्थानमा छ । कांग्रेसले ३२ हजार २ सय ८८ मत पाउँदा एमालेले २९ हजार ५ सय ९१ मत पाएका छन् । माओवादीले ६ हजार ९ सय १६ मत पाउँदा जसपाले २ हजार १ सय ४ तथा नेकपा एसले ५ सय २१ मत पाएको छ । स्थानीय तह निर्वाचनको मताधारलाई मान्ने हो भने गठबन्धनको मत धेरै छ । स्थानीय तहको चुनाव र प्रतिनिधी सभाको प्रकृति फरक हुने भएकोले स्थानीय तहको मत कै आधारमा यसै हुन्छ भन्न सकिने अवस्था नरहेको कतिपयको विश्लेषण छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ६ : ४२ बजे