ओखलढुंगा (रेडियो ओखलढुंगा)। भारतीय जनता पार्टी (भाजपा) ले पछिल्लो गुजरात बिधान सभाका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार १५२ सिटमा अग्रता लिइरहेको छ । यो बिहिबार साँझसम्मको तत्थ्याङ्क अनुसार भाजपाको यस पहिले सन् २००२ मा १२७ सीटको आफ्नो रेकर्ड तोड्ने देखिएको छ । भाजपाले गुजरातमा सन् १९८५ मा माधव सिंह सोलीको नेतृत्वमा भारतीय राष्ट्रिय काङ्ग्रेस (काङ्गे्रस–आई) सरकारले बिधानसभामा हासिल गरेको १४७ को उच्च चुनावी रेकर्डलाई पनि तोड्ने देखिएको छ । यसअघि सार्वजनिक गरिएको सर्भेषणमा भाजपा राज्यमा सातौं पटक भारी बहुमतका साथ सत्तामा आउने अनुमान गरिएको थियो । बिहिवार भएको निर्वाचनमा गुजरातका मुख्य निर्वाचन अधिकृत पी भारतीका अनुसार मतगणनाका लागि १८२ पर्यवेक्षक, १८२ निर्वाचन अधिकृत र ४९४ सहायक निर्वाचन अधिकृत सेवामा खटिएका छन् । मतगणनाका लागि थप ७८ जना सहायक निर्वाचन अधिकृत रहेका छन् । गुजरातमा विधानसभा चुनाव क्रमशः डिसेम्बर १ र ५ मा दुई चरणमा सम्पन्न भएको थियो । गुजरात निर्वाचनको दोस्रो चरणको अन्त्यसम्ममा गुजरातमा अनुमानित ५९.११ प्रतिशत मतदान भएको थियो । डिसेम्बर १ मा भएको पहिलो चरणको मतदानमा गुजरातमा ६३.१४ प्रतिशत मतदान भएको थियो । यसैबीच, भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय काङ्ग्रेस (काङ्गे्रस–आई) बीचको कडा प्रतिस्पर्धामा हिमाचल प्रदेशमा दुवैले समान ३२ सिटमा अग्रता लिएको देखिएको छ । राज्यका ६८ विधानसभा सिटका लागि नोभेम्बर १२ मा चुनाव भएको थियो र करिब ७५.६ प्रतिशत मतदान भएको थियो । सन् २०१७ को विधानसभा निर्वाचनमा भाजपाले ४४ सिट जितेको थियो भने काङ्ग्रेसले २१ सिट जितेको थियो ।
कमेन्ट गर्नुहोस
Comment Section