ओखलढुंगा (रेडियो ओखलढुंगा) । स्थानीयको पहलमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. ५ सानिटारमा कुञ्जरा माईको सुन्दर मन्दिर निर्माण भएको छ । स्थानीय युवाहरुको पहलमा आर्थिक सङ्कलन गरी मन्दिर निर्माण सम्पन्न भएको हो ।
स्थानीयको २ रोपनी क्षेत्रफल जग्गा अनुदानमा निर्माण गरिएको उक्त मन्दिर निर्माण गर्न साँढे १० लाखको हाराहारीमा लागत लागेको निर्माण समितिका अध्यक्ष पुष्पलाल दाहालले जानकारी दिनुभयो । सिद्धिचरण नगरपालिका सहित ५ नं. वडा कार्यालय र विभिन्न संघसस्था, देश विदेशमा रहेका नागरीकहरुको ब्यक्तिगत आर्थिक सहयोग र स्थानीयहरुको भरपूर सहयोगमा मन्दिर निर्माण सम्पन्न भएकोे दाहालले बताउनुभयो । शनिवार हिन्दु धर्मअनुसार विधिवत् रुपमा पाठपूजा गरी मन्दिर उद्घाटन गरिएको छ । सो अवसरमा स्थानियहरुको उपस्थितीमा आयब्यय सार्वजनिक गरिएको र आगामी दिनमा मन्दिर ब्यवस्थापन र संरक्षणका लागि संरक्षण समिति निर्माण गरि हस्ताण्तरण गरिने निर्माण समितिले जनाएको छ ।
केही समय अघि धामिझाक्रिको हातबाट कुञ्जरा माई देवी निस्किएको थियो । सो स्थानमा भक्तालुजनहरुको भाकल पूर्ण हुने धार्मिक विश्वास रहिआएको छ । हिन्दु धर्मावलम्बिहरुले सोही मन्दिरमा विवाह, ब्रतबन्ध, रुद्रिपूजा लगायतका पाठपूजा गर्दै आउने गरेका छन् । यस्ता धार्मिक विश्वास र देवी देवताको संरक्षणको लागि मन्दिर निर्माण गरिएको हो । मन्दिर भित्र कुञ्जरा माई देवी सहित सिद्ध, गोया, नाग, सिंह लगायतका देवी देवताहरु छन् । देवी देवताहरुलाई विशेष गरि गाईको दुध, अक्षता, फुलपाती चढाउने गरिन्छ ।
कमेन्ट गर्नुहोस
Comment Section