१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

खिजीफलाटे प्रहरी इन्चार्ज राई मृत फेला



ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकास्थित खिजीफलाटे ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक (ईन्सपेक्टर) सुतिरहेकै अवस्थामा मृत फेला परेका छन् । वर्ष ४४ का प्रहरी निरीक्षक श्रीप्रसाद राई मंगलबार विहान आफ्नै घरमा सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको हो । राई सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका वडा नं. ३ लेम्चि स्थायी वासिन्द हो ।
आफ्नै घरको तलामाथि सुतिरहेको अवस्थामा राति २ बजे सामान्य टाउको दुख्ने, वान्ता हुने भएपछि आफन्तले भुँई तलामा ल्याएर सुताएका थिए । विहान ५ः३० बजे घाँटी दुख्ने समस्या भएपछि आफन्तलाई जानकारी गराए पश्चात् ७ बजेको समयमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक (ईन्सपेक्टर) देवेन्द्र दासले जानकारी दिनुभयो । राई गत मसिंर २१ गते विवाहको लागि ७ दिनका लागि विदा स्वीकृत गरी घर गएका थिए ।
उनको दुई दिन अघि मसिंर २५ गते विवाह भएको थियो । राईको मृत्यु पश्चात् प्रहरी चौकी वासाबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखेको प्रहरीले जनाएको छ । घटनाबारे कानूनी प्रकृया र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरीक्षक रामकिशोर साहको कमाण्ड टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । राईले अत्याधिक मदिरा सेवन गर्ने गरेको परिवारले जनाएको छ । मृत्युको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ८ : २८ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित