प्रमिला श्रेष्ठ (रेडियो ओखलढुंगा) । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा पदक प्राप्त गर्ने ओखलढुंगाका ८ जना खेलाडी सम्मानित भएका छन् । प्रदेश खेलकुद विकास वोर्ड प्रदेश नं. १ ले असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा जिल्लाका विभिन्न विधातर्फ पदक विजेता ८ जना खेलाडीलाई सम्मान गरेको हो । जिल्लाबाट छनौट भई प्रदेशस्तरीय प्रतियोगीतामा सहभागी बनेर उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रिय प्रतियोगीतामा समेत पदक हात पार्न सफल करातेतर्फ १, जुडोतर्फ १, गल्फतर्फ १ र प्याराग्लाईडिङतर्फ ५ जना खेलाडीहरु सम्मानित भएको जिल्ला खेलकुद विकास समिती ओखलढुंगाका कार्यालय प्रमुख बालकुमार खनालले जानकारी दिनुभयो । सम्मानित हुनेमा करातेतर्फ विनिता श्रेष्ठ, जुडोतर्फ प्रविनकुमार दियाली, गल्फतर्फ सम्झना दाहाल खत्री रहेका छन् । त्यस्तै प्याराग्लाईडिङतर्फ युवराज सुनुवार, रोशन बस्नेत, दिलकुमार सुनुवार, देविकामाया सुनुवार र अनुष्का सुनुवार छन् । प्रदेश खेलकुद विकास बोर्डले प्रदेश नं. १ को १४ ओटै जिल्लाका स्वर्ण पदक विजेता खेलाडीलाई जनही १ लाख, रजत पदक विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजार सहित प्रमाणपत्र वितरण गरेको छ । प्रशिक्षकले २५ हजार, ब्यवस्थापकले २० हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । राष्ट्रिय खेलमा ओखलढुंगाबाट विभिन्न विधाबाट २६ जना खेलाडी सहभागी भएका थिए ।
कमेन्ट गर्नुहोस
Comment Section