ओखलढुंगा (रेडियो ओखलढुंगा) । प्रदेश १ सभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उम्मेदवारी नदिएपछि गौतमको एकल उम्मेदवारी भएको हो । गौतमलाई एकीकृत समाजवादीले पनि समर्थन गरेका छन् । ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बाबुराम गौतमको प्रस्तावक एमालेका रेवती रमण भण्डारी र समर्थकमा एकीकृत समाजवादीका कमल जवेगु माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपाल बहादुर विश्वकर्माले गर्नु भएको छ । प्रदेश १ सरकारको मुख्यमन्त्री एमाले र सभामुख माओवादीले पाउने गरी यसअघि नै केन्द्रमा सहमति भइसकेको छ । काँग्रेसले उपसभामुख दिन एमालेसँग माग गरेको छ । मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई भेटेर उपसभामुख काँग्रेसलाई दिन आग्रह गरेका थिए । अहिलेकै अवस्था कायम रहिरहे गौतमले ६४ मत प्राप्त गर्नु हुनेछ । एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ५ र जसपाका १ र नेकपा यसका ४ गरी ६४ सांसदको समर्थन प्राप्त हुनेछ । ९३ जना सांसद रहेको प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छन् । मनोनयनको समय सम्ममा एक जनाको मात्रै उम्मेदवारी परेको संसद् सचिवालयका सचिव गोपाल पराजुलिले बताउनुभयो । मनोनयनको समय ५ बजेसम्म तोकिएको थियो । पुस सभामुखको निर्वाचन भने २८ गते हुने पत्रकार महासंघ प्रदेश समितिका महासचिव विवेक गौतमले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस
Comment Section