ओखलढुंगा (रेडियो ओखलढुंगा) । नेपाल शेर्पा संघ ओखलढुंगाको आयोजनामा मोलुङ ७ पात्लेमा सिली नृत्य प्रशिक्षण सम्पन्न भएको छ । शेर्पा समुदायको मौलिक संस्कृतिमा आधारित सिली नृत्य प्रशिक्षण सम्पन्न भएको हो । १० दिनसम्म सञ्चालन भएको तालिममा वडाभित्रका पात्ले, खस्रुबोट, च्यावलीटोलका युवाहरु सहभागि रहेको संघका जिल्ला अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिनुभयो । सिलीमा समूह बनाई विभिन्न सामाग्रीहरु बोकेर नाच्ने गरिन्छ । पुरुषहरुले मात्रै नाचिने सिलीलाई रमाइलोका लागि मात्रै नभएर विभिन्न सत्रु, अवरोधहरु हटाउनका लागि नाटकीय रुपमा प्रदर्शन गर्ने शेर्पा समुदायका संस्कृतिका जानकार स्थानीय मिङमार शेर्पाले जानकारी दिनुभयो । समापन सत्रमा वडा अध्यक्ष हेमबहादुर सुनुवारले शेर्पा समुदाय संस्कृतिले धनी रहेको र पछिल्लो समय युवाहरुमा पुस्तान्तरण गर्न विभिन्न तालिम, प्रशिक्षणहरु आयोजना हुनु सकारात्मक भएको बताउनुभयो । त्यस्तै, पात्ले माविका प्रधानाध्यापक लाक्पा शेर्पाले समुदायको जागरण र संस्कार, संस्कृतिको संरक्षणका लागि यी र यस्तै तालिम प्रभावकारी रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा सन्डुप छोलिङ गुम्बाका प्रमुख लामा सोनाम शेर्पाले भाषा, संस्कार, परम्परागत मान्यताको जगेर्ना गर्न नेपाल शेर्पा संघले खेलेको भूमिका सह्रणीय रहेको बताउनुभयो । तालिममा सहभागिहरुलाई प्रमाण पत्र वितरण समेत गरेको वडा सदस्य छोङदोर्जी शेर्पाले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस
Comment Section