ओखलढुंगा (रेडियो ओखलढुंगा) खिजिदेम्बा गाउँपालिकाका दुई युवा र एक स्पेन नागरिकले आईसल्याण्ड पिक हिमालको सफल आरोहण गरेका छन् । गाउँपालिका वडा नं. ९ का ङवाङगोम्बु शेर्पा, मिङमारडि शेर्पा र स्पेनी नागरीक जोर्नले ८ घण्टामा आईसल्याण्ड पिक हिमालको सफल आरोहण गरेका हुन् ।
६ हजार १ सय ८९ मिटर अग्लो आईसल्याण्ड पिक हिमाल आरोहणको लागि युवाहरु माघ १२ गते विहिबार राती १ बजे दिङबोचेबाट हिँडेका थिए । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेको उक्त हिमाल दिङबोचे, चुकुम, ईसलाम्पिक बेस क्याम्प, हाईक्याम्प, ख्रमपम पोईन्ट हुँदै १३ गते शुक्रबार विहान ९ बजे समिट उक्त हिमालको चुचुरोमा पुगेको आरोही ङवाङगोम्बु शेर्पाले बताउनुभयो । बेसक्याम्पसम्म विभिन्न हिमालको यात्रा गरिरहेपनि हिमाल आरोहण गरेको पहिलो अनुभव भएको भन्दै शेर्पाले हिमाल चढ्दै गर्दा माथीबाट ढुंगा खस्ने, टाउको दुख्ने, हाई (लेक) लाग्ने लगायतका समस्या हुने बताउनुभयो । समस्या भएपनि हिमाल चढ्दा अत्यन्तै रमाईलो भएको उहाँको भनाई छ ।
युवाहरुले हिमाल सफल आरोहण गरेकोमा वडा नं. ९ स्थित हिमाली लाली गुराँस युवा क्लव, उन्जे लामा स्मृती लगायत संघसस्थाले उनीहरुलाई शुभकामनाको साथमा बधाई ज्ञापन गरेका छन् ।
कमेन्ट गर्नुहोस
Comment Section