ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगाको खिजीदेम्बा ९ पात्लेस्थित फाप्रे छेर्मादिङ देच्यान छोकुर छोलिङ्ग गुम्बाको शिलान्यास गरिएको छ । बौद्धधर्म परम्परा अनुसार लामागुरुहरुबाट पूजापाठ सहित गुम्बाको शिलान्यास गरिएको हो । साविक पात्ले गाविस वडा नं. ३ छेर्मादिङ्गमा निर्माण गर्न लागिएको गुम्बाको एक समारोहकावीच शिलान्याससहित निर्माण अघि बढाइएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष ङाङ चेम्बा शेर्पाले जानकारी दिनुभयो । गुम्बा निर्माणका लागि स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय कोशी प्रदेश इटहरी, खिजीदेम्बा गाउँपालिका र स्थानीयको त्रिपक्षिय लगानी रहने अध्यक्ष शेर्पाको भनाइ छ । आयोजना कार्यालयको १९ लाख ४० हजार, गाउँपालिकाको ८ लाख ४२ हजार एकातीस रुपैयाँ र श्रमदानसहित कुल २७ लाख बयासी हजार एकातीस रुपैयाँमा गुम्बा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो । गुम्बा निर्माणका लागि स्थानीय जाङमु शेर्पाले २ रोपनी जग्गा निः शुल्क दान गर्नुभएको थियो । स्थलगत सर्भेक्षण, प्रारम्भिक प्राविधिक लागत प्रतिवेदन तयार पारी योजना सम्झौतासँगै निर्माण अघि बढाइएको वडा अध्यक्ष ङावाङ फुरी शेर्पाले जानकारी दिनुभयो । आर्थिक बर्ष २०७९।०८० मा गुम्बा निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गर्ने योजना रहेको जनाइएको छ । यसअघि पुरानो गुम्बा वडाकै डाँडाकटेरीमा थियो । पुराना संरचनालाई यथावत राख्ने र नयाँ गुम्बा पायक पर्ने ठाउँमा निर्माण गर्ने स्थानीयको निर्णय अनुसार फरक ठाउँमा गुम्बा निर्माण शुरु गरेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस
Comment Section