ओखलढुंगा (रेडियो ओखलढुंगा) । खिजीदेम्बा गाउँपालिका, ओखलढुंगाले गाउँपालिका भित्रको भौतिक विकासको प्रगती विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाको चालू बजेट भन्दा बाहेकबाट सञ्चालित परियोजनाहरुको प्रगती ५१.२९ प्रतिशत रहेको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रस्तुत प्रतिवेदन अनुसार विभिन्न १४ वटा योजनाको २०७८ माघदेखि हालसम्मको प्रगती समावेश रहेको कृषि, पर्यटन तथा प्रकृति स्रोत समितिका संयोजक टंकराज सुनुवारले जानकारी दिनुभयो । गाउँपालिकाभित्र सञ्चालनमा रहेका परियोजना मध्ये ४ वटाको प्रगती शुन्य, ४ वटाको २ पटक म्याद गरिएको छ । त्यस्तै, ७ वटा योजनालाई पहिलो किस्ता भुक्तानी लिइएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले जानकारी दिनुभयो । कामको प्रगती भएपनि ४ वटा परियोजनाका निर्माण कम्पनीले भने हालसम्म भुक्तानी लिएका छैनन् । यसरी प्रतिवेदनमा समावेश भएको योजनाहरुमा गाउँपालिकामा ५ शैय्याको अस्पताल भवन निर्माण ४ करोड ७२ लाख ८० हजार ४ सय ५९ रुपैयाँ ६२ पैसा रहेकोमा काम सम्पन्न भएपनि गाउँपालिकाले ६ लाख १७ हजार ९ सय ९७ रुपैयाँ ७२ पैसा भुक्तानी दिन बाँकी रहेको छ । अस्पताल भवन निर्माणको जिम्मा अमृत, जलिकिनी, शंकर जेविले लिएर केही समयअघि नै गाउँपालिकालाई हस्तान्तरण गरिसकेको थियो । त्यस्तै, गाउँपालिका भवनको काम ८५ प्रतिशत सम्पन्न भएको छ । ३ करोड ४ लाख ३२ हजार ९ सय ७९ रुपैयाँ ७२ पैसाँमा ठेक्का सम्झौता भएको भवन निर्माणको जिम्मा इन्नोभेटिभ, प्यारडाइज जेभीले लिएको छ । त्यस्तै, प्रसुतीसहितको अस्पताल भवन चण्डेश्वरीको निर्माण ८० प्रतिशत, लिख भूसिंगा सडक कालोपत्रे ६२ प्रतिशत, देम्बाहिल फुटट्रेल ९० प्रतिशत सम्पन्न भएको प्रतिवेदनमा छ । त्यस्तै, वडा नम्बर १, २, ६, ७ र ८ को कार्यालय भवनको प्रगती क्रमशः ८१, ६५, ४५, ७५ र ३५ प्रतिशत रहेका छन् । वडा नं. ४ को वडा कार्यालय भवन भने स्थान विवादका कारण अघि बढ्न नसक्दा प्रगती शून्य देखिन्छ । १३ औं गाउँसभाले वडा कार्यालय निर्माणका लागि सञ्चवारीमा स्थान तोक्ने निर्णय गरेसँगै काम अघि बढ्ने अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो । प्रगती शुन्य हुने अन्य योजनाहरुमा प्रसुतीसहितको अस्पताल भवन चण्डेश्वरी, चण्डेश्वरी, काति, रावादोलु, भूसिंगा सडक र फलाटे, वर्नालु, हिले सडक रहेका छन् । निर्माण कम्पनी जयकृष्ण विल्डर्स र बासु कन्स्ट्रक्सनले यी योजनाहरुको भरखरै निर्माण सम्झौता गरेको प्रतिवेदनमा उल्लेख छ । अधिकांश योजनाहरुको म्याद २०८० असार मसान्तमा सकिँदैछ ।
कमेन्ट गर्नुहोस
Comment Section