ओखलढुंगा (रेडियो ओखलढुंगा) । मोलुङ गाउँपालिका वडा नं. २ रामपुरमा मानसिक स्वास्थ्य सम्बन्धि निःशुल्क शिविर सञ्चालन भएको छ । गाउँपालिका तथा मानसिक स्वास्थ्य मनोपरामर्श केन्द्र (सिएमसी) नेपालको आयोजनामा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । मंगलबार सञ्चालन गरिएको शिविरमा कडा खालको मानसिक रोग, चिन्ता रोग, उदासिनता (डिप्रेसन), तनाव तथा छारेरोग भएका गरी ४४ जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुले सेवा लिएको मनोपरामर्शकर्ता कोपिला बस्नेतले जानकारी दिनुभयो । उनीहरुको वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर विद्यादेव शर्माबाट चेकजाँच गरी रोगको प्रकृतिअनुसार निःशुल्क औषधी वितरण गरिएको छ । त्यस्तै सिएमसी र जिल्ला अस्पताल ओसिएमसीका मनोपरामर्शकर्ताहरुले मनोपरामर्श सेवा समेत प्रदान गरेकोे मनोपरामर्शकर्ता बस्नेतले बताउनुभयो । विहान जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर शर्माले आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य सम्बन्धि अभिमूखिकरण प्रदान गर्नुभएको थियो । जसमा ६० जना सहभागी भएका थिए । चैत्र ६ गते सोमबार वडा नं. ३ प्राप्चामा सञ्चालन गरिएको शिविरमा ४३ जनाले सेवा लिएका थिए । यसैगरी चिसङ्खुगढी गाउँपालिका र सिएमसी नेपालको आयोजनामा चैत्र ५ गते सेर्ना हेल्थपोस्टमा ५१ जना र सिएमसी नेपाल र सिद्धिचरण नगरपालिकाको आयोजनामा चैत्र ४ गते जिल्ला अस्पताल ओसिएमसी रुम्जाटारमा सञ्चालन गरिएको शिविरमा ४५ जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुले सेवा लिएका थिए । भोली बुधबार मानेभन्ज्याङ गाउँपालिका र सिएमसी नेपालको आयोजनामा मानेभन्ज्याङ गाउँपालिकाको मानेभन्ज्याङ हेल्थपोस्टमा शिविर सञ्चालन गरिने जनाएको छ ।
कमेन्ट गर्नुहोस
Comment Section