ओखलढुंगा (रेडियो ओखलढुंगा) । लेखन सीपको विकासका लागि ओखलढुंगाका १० जना पत्रकारलाई लेखनवृत्ति प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाले सिद्विचरण नगरपालिकासँगको साझेदारीमा स्थानीय सञ्चारमाध्यम तथा अनलाईनमा कार्यरत जिल्लाका १० जना पत्रकारलाई लेखनवृत्ति प्रदान गर्ने भएको हो । महासंघले लेखनवृत्तिका लागि जिल्लास्थित पत्रकारहरु नागरिक मिडियाका शिव ढुंगाना, भिजन नेपाल साप्ताहिकका एसबी जेरो, ओखलढुंगाखबरका नवराज कार्की, भिजनसमाचारका सरस्वती बानिया, रेडियो ओखलढुंगाका प्रमिला श्रेष्ठ र रिता तामाङ, भिजन एफएमका प्रविण मुनाल, आफ्नो एफएमका माया राई र शारदा विश्वकर्मा, सहयात्री एफएमका धुव्र धमला लेखनवृत्तिका छानेका छन् । छनौट भएका पत्रकारले आफूले छानेका विषय (पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु विकास, खेलकुद, पर्यटन, युवा, समावेशीता) लगायतका विषयमा सिद्धिचरण नगरपालिकाको नीति, कार्यक्रम र बजेट, त्यसको कार्यान्वनको अवस्था, समस्या र समाधानका लागि अवलम्बन गरिएका उपायहरुको विश्लेषण सहित आगामी योजना निर्माण र नीतिगत सुधारका लागि तोकिएको विषयमा करिब १ हजार २ सय शब्द सम्मको खोज समाचार लेख्नुपर्ने महासंघका कोषाध्यक्ष कुलबहादुर तामाङले जानकारी दिनुभयो । समाचार आफ्नो सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण गरेपछि पुरस्कार स्वरुप प्रतिव्यक्ति नगद रु.१० हजार रुपैंया पाउने महासंघका सचिव पूर्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो । समाचार सम्प्रेषणका लागि २५ दिनको समय सीमा तोकिएको छ । जिल्लामा सञ्चालित सञ्चार माध्यमको दिगोपना र पत्रकारको हकहितका लागि महासंघले विभिन्न क्षेत्रसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने गरेको महासंघका जिल्ला अध्यक्ष शेर्पाले बताउनुभयो । प्रदेश तथा स्थानीय सरकार र विभिन्न निकायसँग साझेदारीमा जिल्लाका पत्रकारलाई समयसमयमा लेखनवृत्ति र क्षमता विकासका कार्यक्रम तथा सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन उपलब्ध गराउन महासंघले भूमिका खेलिरहेको अध्यक्ष शेर्पाको भनाई छ ।
कमेन्ट गर्नुहोस
Comment Section