ओखलढुंगा (रेडियो ओखलढुंगा) । स्थानीय तहको दोस्रो निर्वाचनबाट आएका सुनकोशी गाउँपालिका, ओखलढुंगाका जनप्रतिनिधीहरुले आफ्नो एक बर्षे प्रगती विवरण सार्वजनिक गरेका छन् । पहिलो बर्षमा गाउँपालिकालाई जिल्लाकै नमुना बनाउने आधार तयार भएको उनीहरुले दाबी गरेका हुन् । गाउँपालिकाको केन्द्र वडा नं. ५ को मूलखर्कस्थित सभाहलमा आयोजित पत्रकार सम्मेलनमा १० वटै वडाका अध्यक्षहरुले वडागत प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, विषयगत शाखाले भएगरेका कार्यको विवरण प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिनुभयो । गाउँपालिकाले पहिलो बर्ष सडक पूर्वाधार, रणनीति निर्माणमा केन्द्रित भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पाँच शैय्याको प्रथामिक अस्पताल ठेक्का लागेको लामो समय भएपनि निर्माण प्रारम्भ नगरेको अवस्थामा अध्यक्षको निर्देशन र पहल कदमीमा धमाधम काम अघि बढेको प्रशासकीय अधिकृत कार्कीको भनाइ छ । त्यस्तै, खानेपानी, सौर्य उर्जा, शैक्षिक सुधार लगायतको क्षेत्रमा काम भएको अध्यक्ष कमल तामाङले जानकारी दिनुभयो । त्यस्तै, विद्यालयहरुमा टिफिन वक्स वितरण, बृद्धबृद्धाहरुलाई सहयोगी सामाग्री वितरण जस्ता नमुना कार्यले आफ्नो पहिलो बर्ष सफल भएको अध्यक्ष तामाङको दाबी छ । गाउँपालिकाको कन्द्रमा फुटबल मैदान निर्माण, कवार्ड हल निर्माण गरी प्रथम अध्यक्षकप समेत भव्यता पूर्वक सम्पन्न भएको यसलाई उपलब्धिको रुपमा लिइएको अध्यक्षको भनाइ छ । अध्यक्ष तामाङले विगतका अधुरा, अपूरा योजनाहरुलाई निरन्तरता दिइएको जनाएको छ । अध्यक्ष तामाङले विकास निर्माण, चेतना अभिबृद्धिसहित वितरणमुखि भन्दा आवश्यकताको आधारमा बजेट विनियोजन भएको बताउनुभयो । उपाध्यक्ष सुनिता अधिकारीले न्यायिक समितिले विभिन्न महत्वपूर्ण फैसला गरेको जानकारी दिनुभयो । बर्षौदेखि मेलमिलाप हुन नसकेको मुद्धाहरु गाउँमै छिनोफानो गरेको उपाध्यक्ष अधिकारीको दाबी छ ।
कमेन्ट गर्नुहोस
Comment Section