ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाले भू–वर्गीकरण गरेको छ । भू–उपयोग नीति निर्माण गरेर पालिकाले जग्गा वर्गीकरण गरेको हो । गाउँपालिकाले बनाएको भू–उपयोग नीति अनुसार जग्गालाई सात प्रकारमा वर्गीकरण गरी कार्यपालिकाबाट पारित गरेको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले जानकारी दिनुभयो । आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी खोला तथा ताल समिसार, कृषि क्षेत्रका आधारमा भू–वर्गीकरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मगरको भनाइ छ । “खिजीदेम्बा गाउँपालिका भू–उपयोग वर्गीकरण आधार र मापदण्ड २०७९” तयार गरी गाउँपालिकाको भू–उपयोग वर्गीकरण अनुसार जीआईएस सिस्टम अनुसार नक्सा अद्यावधिक गरिएको छ । भूमि अधिकार तथा स्वामित्वको सुरक्षा, सबै नागरिकहरुका लागि सुरक्षित र व्यवस्थित आवासको व्यवस्था, किसानको कृषि भूमिमा सहज पहुँच, पूर्वाधारको दिगो विकास, व्यवस्थित भूमिबजार, खाद्य अधिकारको सुनिश्चितता, वातावरण संरक्षण, जलवायू परिवर्तनको कारणबाट पर्ने असरको न्यूनिकरण, गरीबि न्यूनिकरण, लैंगिक समानता र भूमि सम्बन्धि सवालहरुको दिगो र स्थायी समाधानका लागि सरकारले समय सापेक्ष भूमि नीति जारी गरी लागू गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो । भू–उपयोग ऐन, २०७६ को दफा १८ ले सम्बन्धित गाउँ कार्यपालिकालाई स्थानीय भू–उपयोग परिषद्को रुपमा कार्य गर्ने व्यवस्था गरेको अवस्थामा भू–उपयोग योजना स्वीकृत गर्ने, क्षेत्र वर्गीकरण गर्न, नक्सा अध्यावधिक गर्ने, भू–उपयोग योजना कार्यान्वयन गर्ने जस्ता अधिकार र जिम्मेवारी स्थानीय भू–उपयोग परिषद् र कार्यान्वयन समितिले कार्यअघि प्रतिवेदन समेत तयार भइसकेको अध्यक्ष शेर्पाको भनाइ छ । भू–उपयोग परिषद्को गत पुष २५ गते बसेको बैठकले वर्तमान ऐन तथा कानूनले व्यवस्था गरे बमोजिम गाउँपालिकाको वडागत भू–उपयोग वर्गीकरण गरिएको पालिकाले जनाएको छ । गाउँपालिकाले निर्धारण गरेको वर्गीकरणको आधारमा बन्द रहेको जग्गाहरुको कित्ताकाट खोलिने जनाएको छ । वैशाख ३० गते बसेको भू–उपयोग परिषद्को बैठकले भू–उपयोग पुस्तिका अनुमोदन गरेकोसँगै जग्गाको कित्ताकाट खुल्नेछ । जिल्लामा रहेका आठ स्थानीय तह मध्ये खिजीदेम्बा गाउँपालिका भू–वर्गिकरण गर्ने पहिलो स्थानीय तह बनेको छ ।
कमेन्ट गर्नुहोस
Comment Section