२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

खिजीदेम्बामा नयाँ पथमार्ग घोषणा



ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका गत मंसिर ७ गतेदेखि भएको खेल पर्यटन प्रबद्र्धन गर्ने हेतुले ओखलढुंगा जिल्लाकै ३३५० मिटर उचाईमा रहेको थोलेदेम्बा डाँडा हुँदै भएको गल्फ खेल सर्भेक्षण सफल भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । खिजीदेम्बा गाउँपालिकाको आयोजना तथा नेपाल पर्यटन बोर्ड तथा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपालको आयोजनामा वृत्तचित्र सार्वजनिक गरिएको हो ।
सोही अवसरमा खिजीदेम्बा हुँदै तल्लो सगरमाथा क्षेत्रको नयाँ पर्यटन पथमार्ग समेत संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँतीले गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले जानकारी दिनुभयो ।
नेपाल पर्यटन बोर्डको सभाहलमा भएको कार्यक्रममा मन्त्री किरातीले ‘पोकली झरना (१३० मि.) हुँदै चिलिमडाँडा, लाम्जेबौद्ध, चुलीथान, गौरीवन, दोबाटेभन्ज्याङ, खिजीचण्डेश्वरी, खिजीफलाटे, चुप्लुभन्ज्याङ थोलेदेम्बा ३ हजार ३ सय ५० मिटरसम्म ३ दिनको पथमार्ग र थोलेदेम्बा हुँदै पिके, दुधकुण्ड हिमालबाट सगरमाथाको आधार शिविरसम्मको नयाँ पथमार्ग’ घोषणा गर्नुभएको हो ।

नेपालको १ सय गन्तव्य मध्येमा पर्ने देम्बा डाँडाको पर्यटन प्रबद्र्धन गर्ने हेतुले आयोजित कार्यक्रममा ओखलढुंगाका संघीय सांसद रामहरि खतिवडाले खिजीदेम्बा ३ मा पर्ने चण्डेश्वरी विमानस्थलको तत्काल स्तरोन्नती गरी सञ्चालन गर्नुपर्ने, खिजीफलाटेलाई पर्यटकीय हबको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै, संविधान सभा सदस्य यज्ञराज सुनुवारले ओखलढुंगाको खिजीदेम्बा क्षेत्रको पर्यटन प्रबद्र्धन, विकास र विस्तारका लागि सबै पक्षको सकारात्मक भूमिका रहने र खेल पर्यटनको नयाँ अवधारणले पर्यटकको चहलपहल बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
पर्यटनमन्त्ती किराँतीले थोलेदेम्बा जस्ता ठाउँलाई पर्यटकीय क्षेत्र घोषणा गर्दै देशको आर्थिक हैसियत उठाउनका लागि र समृद्ध मुलुक निर्माणका लागि नीतिगत र बजेट व्यवस्थापन गरेर अघि बढ्ने र खिजीचण्डेश्वरी विमानस्थल तत्काल सञ्चालनका लागि पहल कदमी लिने बचनबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै, पर्यटनमार्फत गाउँपालिकाको आयवृद्धि गर्ने सन्दर्भमा पर्यटन प्रबद्र्धनमा गल्फ जस्ता खेल सञ्चालनले विशेष महत्व राख्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले खिजीदेम्बालाई पर्यटन, कृषि लगायतका क्षेत्रबाट अघि बढाउन गाउँपालिकाले नीतिगत रुपमै अघि बढेको र गाउँपालिकाले पहिचान गरेको नयाँ गन्तव्यको प्रबद्र्धनमा प्रदेश र संघले बजेट विनियोजन गरेर तदारुपता देखाउनुपर्नेमा जोड दिनुभयो ।

गल्फका अन्तर्राष्ट्रिय खेलाडी, पर्यटन व्यवसायी, उद्योगी, राजनैतिक दलका प्रतिनिधी, पत्रकार, पथ प्रदर्शक, आरोही, किदुगका अध्यक्ष तथा प्रतिनिधीहरु सहभागि कार्यक्रममा करीव ४ सय ५० जना सहभागि रहेको कार्यक्रम सञ्चालितका ल्हमु शेर्पाले जानकारी दिनुभयो ।
पर्यटन प्रबद्र्धन गरी समग्र मुलुकलाई आत्मनिर्भर बनाउन नयाँ अभ्यास र गन्तव्यको पहिचान गरिएको र यसको प्रचारप्रसार, पृष्ठपोषण प्रदान गर्दै अघि बढ्न सबैको सकारात्मक भूमिकाको अपेक्षा गाउँपालिकाले जारी प्रेस नोटमा उल्लेख छ ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १० : ५६ बजे