३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा



ओखलढुंगा (रेडियो ओखलढुंगा) । आफूलाई लोकतन्त्रको हिमायती ठान्ने दलले नै राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजेको जनता समाजवादी पार्टी (जसपा) ले दाबी गरेको छ । एक विज्ञप्ति जारी गर्दै जसपा, ओखलढुंगाले यस्तो दाबी गरेको हो ।
खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पालाई गैर नागरिककै हैसियतमा गाउँपालिका अध्यक्ष निर्वाचित भएको भन्दै कांग्रेस नेता भूपेन्द्र बहादुर वस्नेतले रिट दर्ता गर्नु कानूनी विषयलाई राजनैतिक मुद्धा बनाएको जसपाको दाबी छ ।
उपाध्यक्ष प्रकाश तामाङद्धारा हस्ताक्षरित विज्ञप्तिमा ‘गाउँपालिकाको विकासलाईं श्रमदानमार्फत समेत अहोरात्र योगदान गरिरहनु भएका गम्बु शेर्पाको व्यक्तिगत ख्यातीबाट अत्तालिएर राजनीतिलाई कानूनको सहायताबाट प्रहार गर्न खोज्नु निश्चिय नै हास्यास्पद हो ।’ भनिएको छ ।
जसपाले लोकतन्त्रको सुगा रटान गर्ने दल र व्यक्तिहरुबाट लोकतान्त्रिक विधि र प्रकृया भन्दा पर गएर यसरी गरिएको राजनैतिक प्रहार उच्च अदालतको आदेशले विफल भएको दाबी गरिएको छ । पार्टीको प्रदेश समिति सदस्य समेत रहनु भएको शेर्पा विरुद्ध दायर भएको रिट कानूनी नभई राजनैतिक मुद्धा रहेको समेत जसपाले ठहर गरेको जनाइएको छ ।
जसपाले गाउँपालिकाको समग्र रुपान्तरण कुनै एक दल, एक व्यक्ति, एकल सोच र एकल प्रयत्नबाट मात्र संभव नहुने भन्दै विगतका मनमुटावालाई अन्त्य गर्दै सबै दल, खिजीदेम्बावासीहरुलाई गाउँपालिकाको विकासमा हातेमालो गर्न समेत आह्वान गरेको छ ।
गाउँपालिका अध्यक्ष विरुद्ध जेष्ठ २३ गते दोहोरो नागरिकता प्रकरणमा खिजीदेम्बा ७ का पूर्व वडा अध्यक्ष तथा शेर्पाका निकटतम् प्रतिस्पर्धी बस्नेतले रिट दायर गरेको थियो । रिटको सुनुवाई गर्दै उच्च अदालत विराटनगर अस्थायी इजालस ओखलढुंगाका न्यायधीशद्धय शकुन्तला घिमिरे र लेखनाथ न्यौपानेले अध्यक्ष शेर्पा विरुद्धको रिट खारेजको थियो ।
रिट खारेज भएसँगै जसपाले सदरमुकाममा पत्रकार सम्मेलन समेत आयोजना गरेर सो सम्बन्धमा जानकारी समेत गराइएको जसपा जिल्ला सचिव पासाङ निमा शेर्पाले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ११ : ५४ बजे