काठमाडौं (रेडियो ओखलढुंगा) । दक्षिण कोरिया र ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाबीच एम्बुलेन्स सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भब्उको हो । गाउँपालिकालाई दुईवटा एम्बुलेन्स सहयोग उपलब्ध गराउन सम्झौतामा हस्ताक्षर भएको हो ।
राजधानीको टिबेट इन्टरनेश्नल होटल, बौद्धमा आयोजित एक समारोहकावीच दक्षिण कोरियास्थित योङसाई साङसारङ अस्पतालले युम हाङ गिल हुमन फाउन्डेशनमार्फत एम्बुलेन्स उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो ।
यसअघि फाउन्डेशनले एक वटा एम्बुलेन्स उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाएको भएपनि गाउँपालिकाभित्रको समस्यालाई ध्यानमा राख्दै एकै पटक दुई वटा एम्बुलेन्स सहयोग उपलब्ध गराउन लागेको बरिष्ठ पर्यटन व्यवसायी आङ दोर्जी शेर्पाले जानकारी दिनुभयो ।
नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क से योङको विशेष उपस्थितीमा भएको कार्यक्रममा ग्रामिण क्षेत्रमा भएका स्वास्थ्य समस्यालाई मैत्रीपूर्ण रुपमा समाधानका लागि पहल गर्ने, कोरिया सरकार र नेपाल सरकारवीच लामो समयअघि देखिको सम्बन्धलाई अझ सुदृढ बनाउन मद्दत पुगोस् भन्ने हेतुले एम्बुलेन्स सहयोग गर्न लागेको जनाइएको छ । एम्बुलेन्स सहयोग सम्झौतापत्रमा अस्पतालका अध्यक्ष डा. को यो गोन, फाउन्डेशनका अध्यक्ष क्या. युम होङ गिल र गाउँपालिका अध्यक्ष शेर्पाले संयूक्त रुपमा हस्ताक्षर गरी आदनप्रदान गर्नुभएको जनाइएको छ ।
सम्झौतापत्र हस्ताक्षर समारोहलाई संक्षिप्त संबोधन गर्नुहुँदै खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष शेर्पाले कोरिया र नेपालवीच भगिनी सम्बन्ध स्थापित भएको लामो समय भइसकेको र आपसी सहयोग, भातृत्वले सम्बन्ध थप प्रगढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । दुर्गम क्षेत्रमा एम्बुलेन्स जस्ता अत्यावश्यक सेवाको अभावमा नागरिकहरुले समस्या खेपी रहेको अवस्थामा अस्पतालले मानवीय संवेदनशिल स्वास्थ्य क्षेत्रमा सहयोग गर्नु स्वागत योग्य रहेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । कोरिया र खिजीदेम्बा गाउँपालिकाबीच आपसी कोरियलीहरुले गरेको विकास, कृषि क्षेत्रमा गरेको क्रान्ति गर्दै आत्मनिर्भर बनेको विषयलाई अनुकरण गर्न थप कार्यक्रमहरु सञ्चालन गर्न स्थानीय सरकार तत्पर रहेको अध्यक्ष शेर्पाले सो अवसरमा बताउनुभयो ।
स्थानीय तह सरकारको आफ्नै आम्दानीका स्रोत नहुँदा सामान्य विषयहरुमा समेत दातृ निकाय तथा सहयोगीहरुलाई गुहार्नुपर्ने वाध्यात्मक अवस्था रहेकोमा कोरिया सरकारकै प्रतिनिधित्व गर्दै अस्पतालले गाउँपालिकाको समस्यामा मलम लगाउने कार्य गरेको भन्दै अध्यक्ष शेर्पाले प्रशंसा गर्नुभयो । सोही अवसरमा अध्यक्ष शेर्पाले गाउँपालिका कोरियाको स्थानीय सरकारसँग भगिनी सम्बन्ध स्थापित गराउन तयार रहेको भन्दै त्यसका लागि वातावरण तयार गर्न सहयोग गर्न समेत आग्रह गर्नुभयो । आगामी पाँच महिनाभित्र गाउँपालिकालाई सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गर्ने सम्झौता पत्रमा उल्लेख छ ।
यसअघि गाउँपालिकालाई प्रदेश नं. १ सरकारले सुविधा सम्पन्न एक थान एम्बुलेन्स उपलब्ध गराई सकेको छ भने गाउँपालिकाले एक थान खरीद गरी सञ्चालनमा रहेको जनाइएको छ ।