मुलुक वैकल्पिक राजनीतिका निम्ति तयार नभएकै हो ? गत साता विवेकशील साझा पार्टीमा आएको विभाजनले यसमाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रमुख राजनीतिक दलहरूको काम–कारबाहीबाट निराश देखिएका नेपालीलाई आशावादी बनाउने उद्देश्य दुई साना राजनीतिक दल मिल्दा राखेको देखिन्छ। उज्वल थापाको विवेकशील नेपाली र बिबिसीका पूर्वपत्रकार रवीन्द्र मिश्रको साझा पार्टी मिलेर विवेकशील साझा पार्टी बन्दा सर्वसाधारणमा एक किसिमको चासो देखिएको पनि हो। यसै पनि २०४६ सालको राजनीतिक परिवर्तनपछि यस्ता वैकल्पिक दल बन्ने प्रयास नभएका होइनन्। प्रजातान्त्रिक लोक दल नामको पार्टीमा त्यतिबेला निकै राम्रो नाम रहेका विभिन्न दलका व्यक्ति संलग्न भए पनि लामो समय चल्न सकेन। बीच–बीचमा केही यस्ता दलीय अभ्यासका प्रयास भए पनि सफलता हात लाग्न सकेन। त्यसैकारण सर्वसाधारणले पालैपालो कांग्रेस र कम्युनिस्ट पार्टीलाई मत दिँदै आएका छन्। सरकारमा भएको दलको कामकारबाहीबाट चित्त नबुझाई मतदाताले पालैपालो अर्को दललाई सत्तामा पुर्याउने गरेको अवस्था छ। यो अवस्थालाई मिश्रले सटीक ढंगले चित्रण गर्दै रेस्टुराँमा मेनु पल्टाएर धेरै बेर बस्ने र अन्तिममा मःम अर्डर गर्ने हाम्रो बानी दलका हिसाबमा रहेको पनि उनले बताएका हुन्। वास्तवमा उनको यो अभिव्यक्तिलाई सर्वसाधारणले रमाइलो मानेर हेरेका पनि हुन्।
गत निर्वाचनअघि थापा र मिश्रले मिलेर विवेकशील साझा बनाएपछि सर्वसाधारणमा आकर्षण बढेकै मान्नुपर्छ। प्रदेश तीनमा तीनजना सांसद पुर्याउने अवस्था पनि रह्यो। मतकै आधारमा पाँचौँ दल बन्न पुग्दा यी दुवै नेताको इज्जत पनि बढेको हो। यिनले केही गर्छन् कि भन्ने आशा फेरि सर्वसाधारणमा देखियो पनि। त्यसयता यिनले पार्टी विस्तारमा पनि आफूलाई लगाएको देखिएको हो। सर्वसाधारणबाट दलका निम्ति रकम संकलनमा पनि पारदर्शी ढंगबाट काम भइरहेको हो। दलको कार्यालयलाई पनि यिनले आकर्षक ढंगले चलाउँदै आएको देखिएको हो। दलको स्थापना दिवसका बेलामा यस दलका नेताहरूले अन्तक्र्रिया गरेर सर्वसाधारणलाई केही गर्न गइरहेको स्पष्ट सन्देश दिएकै हुन्। तर, पछिल्लो पटक दलको एउटा बैठकमा कुटाकुट भएका दृश्य देख्दा सर्वसाधारणले जिब्रो टोक्नुपर्ने अवस्था रह्यो। तर, त्यो आकस्मिक रूपमा भएको घटना होला भनी धेरै गम्भीरतासाथ हेरिएको थिएन। एकाएक यो दलका १६ सदस्यले आफ्नो पूर्व दल विवेकशील नेपाली दर्ताका निम्ति निर्वाचन आयोगमा निवेदन दिएपछि विधिवत् विभाजन आएको छ। सामान्यतः दलहरू आन्तरिक लोकतन्त्रको अभावमा विभाजनमा पुग्छन्। त्यसमा पनि प्रमुख राजनीतिक दलहरूमा गुट, फुट र विभाजन नियमित प्रक्रियाकै रूपमा रहेको छ। त्यसमा पनि कम्युनिस्ट पार्टीहरूबीचको विभाजन र एकताबाट हाम्रो राजनीति निकै जानकार छ। अझ विभाजनपछि पनि त्यसमा देखिने कटुतापूर्ण अवस्थाबारे सबै भुक्तभोगी छन्।
विवेकशील साझामा आएको विभाजनले अब यी दुईको भविष्य के हुने हो भन्ने आँकलन भइरहेको छ। निःसन्देह विभाजन नराम्रो हो। आन्तरिक लोकतन्त्रको अभ्यास राम्ररी हुन सक्दैन भने विभाजन पनि अपरिहार्य हुन्छ। त्यो अवस्थामा विभाजित भइजाने पक्षले आफूलाई कसरी संघर्षको मैदानमा उभ्याउँछ भन्ने पक्ष महत्वपूर्ण हुन्छ।
विवेकशील साझामा आएको विभाजनले अब यी दुईको भविष्य के हुने हो भन्ने आँकलन भइरहेको छ। निःसन्देह विभाजन नराम्रो हो। आन्तरिक लोकतन्त्रको अभ्यास राम्ररी हुन सक्दैन भने विभाजन पनि अपरिहार्य हुन्छ। त्यो अवस्थामा विभाजित भइजाने पक्षले आफूलाई कसरी संघर्षको मैदानमा उभ्याउँछ भन्ने पक्ष महत्वपूर्ण हुन्छ। यो दल भने निर्माणकालीन चरणमै रहेको हुँदा र निर्वाचनपछिको एक वर्ष मात्र पुगेको हुनाले आगामी निर्वाचनलाई लक्षित गरी गतिविधि सञ्चालन गर्न यसले मौका भने अवश्य दिन्छ। विवेकशील साझाका नेता मिश्रका निम्ति भने यो गम्भीर धक्का हो। उनले राजनीतिमा परिवर्तन ल्याउन सक्लान् भनी गरिएको विश्वासमा एक हिसाबले ठेस पनि लागेको छ। विभाजित भई गएका दुवै पक्षले एकअर्काबीच कटुतापूर्ण भाषाको प्रयोग गरेका छैनन्। त्यो राम्रो पक्ष हो। अन्य राजनीतिक दललाई समेत यसले एउटा संस्कारका निम्ति सन्देश पनि दिएको छ। तर, यो दललाई एक बनाएर लैजान मिश्रले भूमिका खेल्न सकेनन्। त्यो जिम्मेवारी थापाको पनि हो। तैपनि अनुभवका आधारमा पनि मिश्रपट्टिको आमविश्वास अलि बढी थियो। पार्टी एकीकरण भएको १५ महिनामै फेरि पुरानै घरमा फर्किनुपर्ने अवस्था आउनुमा दुवै पक्षले आपसमा गम्भीर समीक्षा गर्नु जरुरी छ। वैकल्पिक राजनीतिप्रतिको आम विश्वास यसले भत्काएको छ। त्यो विश्वास आर्जन गर्न फेरि दुवै पक्ष लाग्नु उचित हुन्छ।
nagariknews