८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

लेखकलाई दिमाग चलाउन स्वास्थ्यप्रति सचेत हुन आवश्यक छ ।



काठमाडौं । साहित्यकार नयनराज पाण्डे डाक्टर होइनन् । चिकित्सक नभए पनि उनीसँग अनलाइनखबरले स्वास्थ्यका बारेमा कुराकानी गरेको छ ।

आख्यानकार पाण्डे एक वर्षअघिसम्म मोटाघाटा ‘खाइलाग्दा’ थिए । उनी लेखक-कविको जङ्सन मानिने पिपलबोटमा अरु लेखकसँग हुल बाँधिन आउँथे । विस्तारै पिपलबोटमा आउने क्रम घट्न थाल्यो कहिलेकाहीँ आइहाले पनि उनले जथाभावी खानपिन गर्न छाडे । चिया खाँदा चिनीको ‘परहेज’ गर्न थाले । 

कतिपयले पाण्डेलाई मधुमेहले च्यापेको आशंका गरे । सुरुमा उनले यस्ता प्रश्नलाई हाँसेर टार्थे । एक वर्ष पुग्दानपुग्दै सामाजिक सञ्चालमा उनले पोस्ट गरेका तस्बीरमा समेत उनको शरीर घट्न थालेको चर्चा आउन थाल्यो ।

यसै सेरोफेरोमा हामीले नयनराज पाण्डेसँग उनको स्वास्थ अनुभवसम्बन्धी कुराकानी गरेका हौं । यसक्रममा उनले लेखकहरुलाई स्वास्थ्यमा ख्याल गर्न सावधान गराए ।  

दुब्लाएको देखिनुहुन्छ । बिरामी भएको चर्चा पनि चलेको थियो । खास के हो ?

मेरो शरीर घटेको देखेर विभिन्न अड्कलबाजी गरिएछ । कतिपयले सुगर भयो ? भनेर सोधे । तर, त्यस्तो केही भएको होइन । पहिले स्वास्थमा उति  ध्यान दिन्नथेँ, अहिले चेत खुलेर ‘मेन्टेन’ गरेको हुँ ।

चेत कसरी खुल्यो त ?

१३ महिनाअघि ललितपुरको दुर्गम गाउँ प्युटारको चण्डेश्वरी सेकेन्डरी स्कूलका भाइबहिनीहरुसित लेखनकलाबारे कुराकानी गर्ने निम्तो आयो । आयोजक साथीहरुले त्यो गाउँ केही विकट छ भनेका थिए, तर मेरालागि महाविकट रहेछ । उनीहरुको लागि ४५-५० मिनेटको ठाडो उकालो मेरा लागि ३ घण्टा लाग्ने सगरमाथा साबित भयो ।

उक्लँदै गर्दा लेक लागेझैं पनि भैरहेको थियो । आँखाअगाडि अँध्यारो हुन्थ्यो कुनै बेला । घरी पेट उमेठिएर वान्ता होलाजस्तो हुन्थ्यो । चिसो मौसममा पनि खलखली पसीना आइरहृयो । जीवनमा त्यति कठिन यात्रा मैले गरेको थिइनँ । मेरै कारणले स्कूलको कार्यक्रम पनि अबेर शुरु भयो । त्यसबाट मलाई लज्जावोध पनि भयो ।

प्युटार पुगेपछि पनि मलाई सहज स्थितिमा आउन निकैबेर लाग्यो । त्यहाँ पुगेर लोकल कुखुराको मासु र भात सबैले स्वाद मानीमानी खाइरहेका थिए । तर, मैले न स्वाद पाएँ न रुच्यो । त्यो सब मोटोपनको कारण भएको बोध भयो ।

कक्षा कोठामा मैले ‘यति सुन्दर ठाउँमा आउन र असल भाइबहिनीसित भेटघाट गर्न मलाई साह्रै गाह्रो भयो, फेरि आउँदा चाही दुब्लाएर आउँछु’ भनेर बाचा गरेँ । त्यहाँबाट फर्केपछि मर्निङवाक सुरु गरेँ, जुन अहिले लतजस्तो भएको छ । अचेल प्रतिकिमी ८ मिनेटको दरले हिडेर मेरो घर धापासीबाट बूढानिलकण्ठ मन्दिरसम्मै पुग्छु । पहिले ३६ इन्चको पाइन्ट लगाउँथे, अचेल ३२ को लगाउँछु । तौल करिब १५ किलो घटाएँ । तौल घटाउन खानपीनमा पनि सुधार गरेँ ।

खानपीनमा के सुधार गर्नुभयो ?

लामो या छोटो दिन अनुसार विहान ३ देखि ४ बजेसम्म उठ्छु । उठ्ने बित्तिकै आधा लिटर मनतातो पानी पिउँछु र बाथरुम पस्छु । नित्यकर्म सकेर करिब एक घन्टा योगसँगै पेट, ढाड, गर्दनका व्यायाम गर्छु । व्यायाम सकेर फेरि आधा लिटर मनतातो पानी पिउँछु । त्योसँगै भिजाइराखेको बदाम र आलसका धुलो पनि खान्छु । एक मुठी जति भिजाएको चना ओभनमा बफाएर खान्छु । एउटा स्याउ पनि खान्छु अनि मौसम अनुसारका कपडा लगाएर मर्निङवाकमा निस्कन्छु ।

अघिल्लो दिन के-के, कति खाएँ भन्ने कुराबाट मर्निङवाकको दुरी निर्धारण हुन्छ । मर्निङवाकबाट फर्केर एक लिटर जति मनतातो पानी पिउँँछु । त्यसमध्ये एक ग्लासमा मह, कागती र दालचिनीको धुलो मिसाएर पिउँछु ।

त्यसपछि नुहाएर अलिकति ओखर र छोहरा खान्छु । त्यस लगत्तै ३-४ पिस बिस्कुट र तुलसी चिया खान्छु । नौ-साढे नौ बजेका बीच खाना खान्छु । खानासंग साग र अरु तरकारी बढी खान्छु । प्रोटिनका लागि एक कचौरा दाल या गेडागुडीको रस पनि प्युँछु । जाडोमा दिनभरिमा पटकपटक गरेर आधा लिटर जति गि्रन टी पनि खान्छु ।

खसीको मासु बिरलै खान्छु । कुखुराको मासु हप्तामा १-२ दिन खान्छु । खानासँगै माछाको तेलको क्याप्सुल निल्छु । हामी नेपालीलाई भिटामिन डिको कमि हुँदोरहेछ । त्यसले हाड दुखेको अनुभव हुने रहेछ । त्यसैले महिनामा एक दिन भिटामिन डी क्याप्सुल पनि लिन्छु । दिनभरिमा पाँच लिटर जति पानी प्युँछु । करिब एक बजेतिर चिया र बिस्कुट खान्छु । तीन बजे हल्का खाजा खान्छु ।

कुनै दिन बढी चिल्लो, मासु या बढी क्यालोरीका खाना खानु पर्ने स्थिति छ भने बिहान तातोपानीमा मह हाल्दिनँ, कागती र दालचिनीमात्र लिन्छु । साँझ सात बजेतिर दुइटा रोटी र टन्नै तरकारी खान्छु । सुत्नुअघि एक ग्लास दूध प्युँछु । दूध खाने या नखाने कुरा दिनभर के-के खाएँ भन्नेमा निर्भर हुन्छ ।

स्वास्थ्य जाँच पनि गराउनुहुन्छ ?

छ-छ महिनामा मृगौला, कलेजो, लिपिड प्रोफाइल, युरिक एसिड, क्रिएटिनिनसँगै युरिनको रुटिन चेकअप गराउँछु । सबै ठीक ठाउँमा छ ।

खानपिनको तालिका गुगलबाट बनाएको हुँ । योग र ब्यायाम युटुबबाट सिकेँ । धेरैजना विशेषज्ञको सल्लाहले महत्व दिएको कुरालाई ‘फलो’ गर्छु । एक वर्षअघि ८० किलो भन्दा बढीको थिएँ, शरीर असहज लाग्न थालेको निकै भैसकेको थियो । मर्निंगवाक जान अनेकपटक तिथिमिति तोके पनि वजनले मलाई अल्छी बनाएको थियो । खानपिनमा पनि अलि अराजक नै थिएँ । निहुरिएर जुत्ताको लेस बाँध्न हम्मे पथ्र्यो । प्रेसरको औषधि खान थालेको १०-१२  भएको थियो । कोलेस्ट्रोल नियन्त्रण गर्ने औषधि पनि थपिएको थियो ।

ढाडले पनि बेलाबेलामा दुःख दिन्थ्यो । समतलमा खासै गाह्रो नभए पनि उकालोमा साँस बढ्थ्यो । राति निद्रामा घुरेर अरुको निन्द्रा बिथोल्थेँ । अचेल सब ठीक भएको छ । डाक्टरको सल्लाह अनुसार नै प्रेसरको औषधि बन्द गरेको छु । सम्भवतः अर्को चेकअपमा कोलेस्ट्रोलको कुरा पनि सकिन्छ ।

अचेल म हरदम उत्साहित अनुभव गर्छु । सकारात्मक सोचका लागि अनेक तालिममा सहभागी हुन्छन् मनुवाहरु । तर, वजन घटेसँगै ममा त्यो सोच आफैं विकसित भएको छ ।

स्वस्थ जीवनका लागि तपाईंको सिको गर्नेहरु कति छन् ?

केही साहित्यकार साथीहरुले चासो राख्नुभएको छ, तर उहाँहरुमा मेरै कारणले सचेत भएको भनेर दावी गर्ने मसित कुनै प्रमाण छैन । फेरि, मैले आफू स्वस्थ्य रहने सानो प्रयास गरेको हुँ । कसैलाई प्रेरणा दिन या फुर्ति लगाउन गरेको होइन ।

लेखकले आˆनो दिमागी स्वास्थ्यका लागि पनि शारीरिक स्वास्थ्यप्रति सचेत हुनु पर्छ भन्ने मेरो बुझाइ हो । एक मिनेट पनि अबेर नगरी स्वस्थ्य रहने प्रयास थालिहाल्नुपर्छ भन्ने मेरो आग्रह पनि हो ।

स्वास्थप्रति सचेत संसारका चर्चित व्यक्तिहरु सम्झनुपर्‍यो भने तपाईको दिमागमा को-को आउँछन् ?

जापानका हारुकी मुराकामीले स्वस्थ्य रहन दौडँदाको अनुभवलाई किताव कै रुप दिएका छन् । भारतका रविन्द्र कालियाले ‘गालिब छुटी शराब’ भन्ने किताबमा रक्सीको कुलत र त्यसले  स्वास्थ्यमा पारेको असरका बारेमा लेखेका छन् । लेखकहरु बढी सक्रीय, कल्पनाशील र ऊर्जावान हुनका लागि स्वास्थ्यप्रति सचेत हुनै पर्दोरहेछ भन्ने मलाई लाग्छ ।

संसारमा विशेषगरी कलाकारहरु आफ्नो स्टारडम बचाउन बडी बिल्डिङ्मा ध्यान दिन्छन् । उनीहरु स्वस्थ भए पनि अध्ययनशील मानिँदैनन् । यसको कारण के होला ?

कतिपय फिल्म स्टारका लागि शरीर नै सम्पत्ति हो । त्यसलाई  जोगाउन उनीहरु मरिहत्ते गर्छन् । तर, मलाई अरु प्रोफेशनका ब्यक्तिहरुको स्वास्थ्यचेतबारे उति सरोकार हुने कुरा भएन । मैले बुझेको के हो भने रोगी शरीरले दिमागलाई पनि बोदो बनाउँछ । त्यसले अध्ययनप्रतिको अभिरुचि र सिर्जनशीलतालाई प्रभावित गर्छ नै ।

हाम्रो सन्दर्भमा स्वास्थ्य र सौन्दर्य फरक कुरा मानिएको छ । सबै सुन्दर देखिने मान्छे स्वस्थ नहुन सक्छ । तर, हरेक स्वस्थ्य मान्छे मानसिकरुपमा सुन्दर हुन्छ । उसको सुन्दरता उसको कामप्रतिको लगाव, सक्रियता र कर्ममा प्रतिविम्बित हुन्छ ।

तपाईंले पनि लामो समयसम्म स्वास्थलाई बेवास्ता गर्नुभयो । त्यसले तपाईंका कुन-कुन पक्षमा बाधा गर्‍यो होला ?

म आम नेपाली नै हुँ । बिरामी भएपछिमात्र स्वास्थ्यमा ध्यान दिने चिन्तन थियो । हाम्रो स्वास्थ्य शिक्षाको कमजोरी नै यही हो । शरीर स्वस्थ राख्नु पर्छ भन्नेमा म हद दर्जाको अल्छी थिएँ । आलस्य, असन्तुलित खानपान, बिना रुटिनको निद्राले हामीलाई गाँजेको छ । म पनि त्यही समस्या र मानसिकताले ग्रस्त थिएँ ।

चण्डेश्वरी स्कुलका भाइबहिनीसित फेरी भेट्नुभयो त ?

एक महिनाअघि रुकुमको सिस्ने हिमाल दर्शनका लागि पहाडको उकालो चढ्दा कम उमेरका साथीहरु मभन्दा निकै पछि परेका थिए । ममा आएको यो परिवर्तन प्युटारका भाइबहिनीलाई देखाउन आतुर छु ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : ५३ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित