२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

चोरीको आरोपमा तीन जना महिला पक्राउ




ओखलढुंगा (रेडियो ओखलढुंगा )विभिन्न ठाउँमा चोरी–डाँका गरेको आरोपमा तीन जना महिलालाई पक्राउ गरेको छ । चिशंखुगढी गाउँपालिका–५ को दुई घरमा चोरी गरेको आरोपमा तीन जना महिलालाई ओखलढुंगा प्रहरीले पक्राउ गरेको हो । गएको ११ गते पाखे स्थित चिसापानी बस्ने दुर्गा बहादुर परियार र कमल बहादुर राउतको घरमा चोरी गरेको आरोपमा सोही गाउँपालिकाको वडा नं.४ का वर्ष २४ की सुनिता सार्की, वर्ष २३ की कविता परियार र ५५ वर्षिय मिठु परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिस्टार सिंहले बताउनुभयो ।उनीहरुले परियारको घर भित्र पसी घर भित्र रहेको दराजबाट नगद तथा सुनचाँदीका गरगहना समेत गरी जम्मा एक लाख ८ हजार ८०० बराबरका धनमाल र राउतको घरको झ्याल हसियाले फुटाई घर भित्र प्रवेश गरी निजकी आमा वर्ष ७० की उमा कुमारी राउत सुति निदाएको अवस्थामा घर कोठामा रहेको नगद तथा सुनचाँदीका गरगहना समेत गरी करिब ९ लाख ८१ हजार ५०० बराबरको धनमाल चोरी–डाँका गरेको आरोपमा अनुसन्धानका लागि उनिहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।उनिहरुको साथ बाट झ्याल फुटाउन प्रयोग भएको हसिया थान–१, सुनको बाला थान–१, सुनको तिलहरी थान–२, सुनको छापे औठी थान–१, कानमा लगाउने सुनको मुन्द्री थान–१, नाकमा लगाउने सुनको फुली थान–४, चाँदीको पाउँजु थान–१, चाँदीको छापे औठी थान–१, किप्याड मोवाईल थान–४, कलेजि रंगको उनीको टोपी थान–१, पैसा राख्ने गरेको फलामको पाईप थान २, नगद नेपाली आठ हजार ५६५ साथै मह, खाने तेल, साबुन, जस्ता दैनिक उपभोग्यका सामानहरु प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  २ : ०९ बजे