१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

जसको लगानीमा गाउँमा सडक पुग्यो



ओखलढुंगा । सामान्य गोरेटो बाटो निर्माण गरेर आफ्नो घरदेखि शौचालयसम्म पुग्न सहज बनाउन निक्कै संघर्ष गर्छौं । घरदेखि शौचालय पुग्न समेत साँघुरो, हिलो, झारीले बाटो पार गर्दै पुग्नुपर्ने वाध्यताकावीच हामी जीवनयापन गरिराखेका छौं । विभिन्न व्यक्तिहरुले पुण्य आर्जन गर्ने भन्दै गाउँमा केही किलोमिटर गोरेटोबाटाहरु बनाएका हामीले देखेका छौं । सामान्य पैदलयात्रा गर्न सहज हुने बाटो नहुँदा दुर्घटनाहरु निम्तिएको र अकालमा ज्यान घुमाउनु परेका अनेकौं घटनाहरुको हामी साक्षी समेत छौं । हिजो बाजे पूर्खाहरुले आफै बाटो बनाउथे, पुलपुलेसा हाल्थे, माने, बौद्धचैत्य, चौतरा बनाउँथे भन्थे किम्भदन्ती जस्तै बनेको बेला ओखलढुंगा जिल्लाको दुर्गम गाउँमा एक जना यस्तो प्रतिनिधि पात्र जन्मियो । जसले माथि लेखिएका कुराहरु भन्दा फरक सन्देश दिन्छ । जिल्लाको साविक जन्तरखानी गाविस वडा नं. ९ हालको सिद्धिचरण नगरपालिका वडा नं. ६ दम्मर जहाँ थोरै घरधुरी छ । मानविक विकास सूचांकको दृष्टिबाट हेर्ने हो भने अतिनै पछि परेको छ । सदरमुकामदेखि कोषौं हिडेर पुगिन्छ । बर्षभरी जम्मा एउटा मात्रै खेती हुन्छ । त्यसमा पनि आलू र गहुँ बाहेक अन्य उत्पादन हुँदैन । बर्षभरको उत्पादनले करीब चार महिनापछि खाना धौ धौ हुन्छ । जंगलैजंगलको बीचमा रहेकोले लगाएका फलाएका अन्नाबाली समेत जंगली जनवार, पशुपंक्षिले नष्ट पारी दिन्छ । स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता आधारभूत विषयहरुबाट यो गाउँ बञ्चित थियो । त्यस्तै, विद्युत, सडक पूर्वाधार जस्ता विषयहरु सपनामै सिमित थियो । यस्तै गाउँमा एकजना यस्तो असल व्यक्तित्वको जन्म भयो । जसले गाउँलाई नै कायपल्ट गरी दियो । गाउँमा विद्युत पुर्यायो, स्वास्थ्यको सुविधा लियो । धेरैलाई पढ्ने र पढाउने अवसर मिल्यो । मिङमार शेर्पा उनलाई गाउँमा आङ दावा भनेर चिन्छन् । गाउँको संघर्ष, दुःखद् अवस्थाबाट बाल्यकाल विताएका शेर्पा सानै उमेरदेखि पर्यटन मजदुरीमा लागे । पर्यटन मजदुर हुँदै उनी व्यवसायी बने । आर्थिक अवस्था केही सुधार हुँदै गएसँगै उनले आफू जन्मेको ठाउँको दुःखहरु स्मरण गरे । गाउँले भोग्दै आएको दुःख, संघर्षलाई आत्ममा साँचेर राखेका उनले गाउँको विकासका लागि केही गर्ने अठोट गाउँ छोड्दा नै लिएका थिए । पर्यटन व्यवसायमा लाग्दै गर्दा राजधानीतिर बसोबास गर्न थालेका उनी बर्षमा एक पटक गाउँ पुग्थे । यसै क्रममा उनको विभिन्न विदेशी साथीहरुसँग चिनजान बढ्दै गयो । हिमाल आरोहणमा पनि शेर्पाले अगुवा भूमिका निर्वाह गर्दै गए । यसरी आर्थिक सवलीकरणसहित उनले गाउँलेको छाना फेरि दिए । हिउँदमा असाध्यै जाडो हुने भएकाले चिम्नी हाली दिए । विभिन्न स्वास्थ्य शिविरहरु सञ्चालन गरे । जसले यस भेगका कयौंले डाक्टरको मुख देख्न र नयाँ जीवन पाए ।
यतिमात्रै होइन समय क्रमसँगै विकासका प्ररुपहरु फेरिँदै जाँदा छिमेकी गाउँहरुमा अन्य विभिन्न व्यक्ति र सरकारको लगानीमा कृषि सडक पुगेका थिए । सामान्य बलेरो मात्रै भएपनि सामान बोकेर आउन थालिसकेको थियो । तर, दम्मरमा पहल गर्ने अगुवा नहुँदा सडक पुग्ने परिकल्पना समेत थिएन । त्यसैले यहाँका नागरिकहरु घण्टौं लगाएर पिठूँमा सामान बोकेर ओसार्थे । अरु गाउँमा कर्कटपाताले घरहरु रंगिन भएका थिए । त्यहाँपनि बोकेर, दुखका साथ पछि घरमा जस्तापाता छाए । यस्तै, दुःखद र संघर्षलाई झेल्दै गाउँलेहरुले दैनिक चलाएको साक्षी बनेका मिङमारले गाउँमा सडक सञ्जाल जोड्ने अठोट गरे । केही बर्षअघि टुक्सिन्दोदेखि करिब ७ किलोमिटर सडक व्यक्तिगत लगानीमा गाउँमा पुर्याए । त्यसबाट गाउँमा सामान्य ट्याक्टर, बलेरो आउने र दैनिक उपभोग्य सामान ल्याउन सजिलो भयो । गाउँका कोही विरामी परेमा समयमा अस्पताल पुर्याउन सहज भयो । यसरी जोडिएको बाटो ६ महिना भन्दा बढी चल्न सक्दैन्थ्यो । बर्षातमा पानीका कारण हिलोमा गाडी नउक्लिने र हिँदमा हिउँ र टुसारोका कारण चिप्लेटी खेलेर वस्ने समस्या थियो । यसरी सडकमार्ग दिगो बन्न सकिराखेको थिएन । यस्तो अवस्थामा शेर्पालाई बैकल्पिक सडकमार्ग निर्माणका उपायहरु खोज्न थाले । यस पटक शेर्पाले सोलुखुम्बु जिल्ला पर्ने ढिकुरे हुँदै आफ्नो गाउँमा सडक जोड्न र जुन बाह्रै महिना सञ्चालनमा आउने विश्वास जाग्यो । उनले फेरी सडकमा लगानी गरे । करीब ७ लाख भन्दा बढी लगानी गरेर ढिकुरे हुँदै आफ्नो गाउँमा पहिलो जोडिएको सडकमा बाटो जोडे । यो सडक जोडिएसँगै सदरमुकामसँगको गाउँको धुरी समेत घटेको छ । आउनजान सहज हुने त छँदैथियो, भाडापनि कममै जान र सामान ल्याउन पाइने भयो । अन्य धेरै सुविधाहरु सडकबाट लिन सकिन्छ नै अब गाउँमा उत्पादन भएका आलु, गहुँ, सिमी लगायत तरकारीहरु समेत लैजान गाउँलेलाई सुविधा भयो । त्यस्तै, यस भेगमा पाइने जडिबुटी, बन पैदावार निकासी गरेर स्थानीयले राम्रो आम्दानी गर्ने मार्ग समेत प्रशस्त भएको छ ।
एक जना व्यक्तिको सोच र लगानीले हिजोको विकट गाउँ अब निकट भएको छ । विकासको हरेक दृष्टिबाट पछि परेको दम्मर उज्यालो भएको छ । अब गाउँलेका जीवन फेरिन्छ भन्नेमा सबै ढुक्क छन् । सडकका परिकल्पना समेत नगरेका, मोटर नदेखेका बृद्धाहरु सामाजिक सुरक्षा भत्ता लिन बलेरोमा सयर गर्दा शेर्पालाई आर्शिवाद दिन्छन् । आँगनमै नुन चामलका बोरा झर्दा उनै मिङमारको नाम लिन्छन् । अहिले त मिङमार अमेरिकातिर बस्छन् तरपनि आफ्नो गाउँलाई साह्रै नजिकबाट हेर्छन । गाउँ र गाउँलेहरुलाई असाध्यै माया गर्छन र त विदेशमा बगाएको पसिनाबाट व्यक्तिगत लगानी गरेर लाखौं गरेर सडक, पानी, वक्ति पुर्याउँछन् । अझै उनको धेरै सपना छ । आफ्नो गाउँलाई अझै सिंगार्नु छ । जसका लागि उनी प्रवासमा निरन्तर पसिना बगाई राखेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १ : २१ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित