८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

ओखलढुंगामा बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै



ओखलढुंगा (रेडियो ओखलढुंगा )ओखलढुंगामा बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । २०७३ बैशाख देखी २०७५ असोज सम्म जन्मेका बालबालिकाका लागी आई.पि. भि पोलियो खोप अभियान सञ्चालन हुने भएको हो । स्वाथ्य कार्यलय ओखलढुंगाले आज सरोकारवाला र पत्रकारहरु विच अभिमुखिकरण गर्दै नेपाल सरकारले पोलियो रोगबाट बचाउन देशभर सञ्चालन गर्ने लागेका खोप अभियान आगामी जेठ १६ गतेदेखि १९ गते सम्म पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने जनाएको हो । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् । जिल्लामा विद्यालय तथा पालिकाले तयार गरिएकोे तथ्याङ अनुसार ७३ साल बैशाख देखी ७५ असोज सम्म जन्मिएका करिव ५५ सय बालिबालिकालाई खोप लगाउने लक्ष रहेको स्वाथ्य कार्यलय ओखलढुंगाका प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिनुभयो । यस समयमा जन्मिएका बालबालिका सबै विद्यायलमा हुने भएकाले विद्यालयमा सञ्चालित खोप केन्द्रका लागि खोपकर्मी र शिक्षकलाई अनुशिक्षण गरिएको छ । यस्तै पालिका तथा स्वाथ्य चौकीको सहयोगमा प्रत्येक विद्यायमा गई तथ्याङ तयार पारिएको उहाँको भनाई छ । यस खोप अभियानमा साँढे ५ बर्ष देखी ८ बर्ष आसपासका बालबालिका पर्ने जनाएको छ । यस्तै जिल्लामा स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिलाई खोपका बारेमा अभिमुखीकरण गराउने कार्यक्रम सुरु गरिएको छ। सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  २ : ०१ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित