२१ कार्तिक २०८१, बुधबार | Thu Nov 7 2024

युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती



ओखलढुंगा (रेडियो ओखलढुंगा )ओखलढुंगामा युग कवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाइएको छ । सिद्धिचरण संग्रहालय समितीको आयोजना र ओखलढुंगा साहित्य प्रतिस्ठानको सह–आयोजनामा सिद्धिचरण नगरपालिका –१२ स्थित उनको जन्मस्थलमा श्रेष्ठको १ सय १३ औँ जन्मजयन्ती मनाइएको हो । जन्मजयन्तीको अवसरमा आज उनको प्रतिमामा माल्र्यापण गर्दै पुष्पगुच्छा र अबिर चढाईएको छ । जन्मजयन्तीको अवसरमा विभिन्न रचना बाचन गरि कार्यक्रमकै क्रममा उनको प्रतिमा स्थल वरपर वृक्षरोपण समेत गरिएको थियो । सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रूपमा चिनिन्छन् । युगकवि श्रेष्ठले आफ्नो जीवनको साढे छ दशक लामो साहित्य साधनाका सन्दर्भमा फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरण लगायतका विधामा सफलतापूर्वक कलम चलाएका थिए ।
उनका ‘मेरो प्यारो ओखलढुंगा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायतका मर्मस्पर्शी रचनाहरु सर्वाधिक चर्चामा छन् । त्यस्तै उनका कविता संग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपीला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायतका कृति रहेका छन् । युगकवि श्रेष्ठको वि.सं.२०४९ साल जेठ २२ गते निधन भएको थियो । नेपाली अनि नेवारी दुबै भाषामा उनका कविताहरु पाइन्छ, दुबै भाषाका प्रखर ज्ञान भएका युगकवि सिद्धिचरण श्रेष्ठ आफ्ना अभिव्यक्तिहरुमा समाजको बास्तविक चित्रण गर्न र सुधारवादी धारहरु ल्याउन तल्लिन देखिन्छन् । उनका कवितामा सबैको भलो होस् र जय होस् भन्ने भावहरु पाइन्छ, ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  २ : ०५ बजे