२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

बुद्ध जयन्तीलाई ‘अहिंसा दिवस’को रुपमा मनाइने



काठमाडौं । बुद्ध जयन्ती समारोह मुल आयोजक समिति, शेर्पा सेवा केन्द्र बौद्धले आगामी बर्षदेखि बुद्ध जयन्तीलाई अहिंसा दिवसको रुपमा मनाउने भएको छ । २५६८ औं बुद्ध जयन्तीको अवसरमा आयोजित शान्ति पदयात्रा समापनसत्रमा अहिंसा दिवस मनाउने घोषणा गरेको हो ।
गुम्बाले मूल समारोह गठन गरी बार्षिक रुपमा बुद्ध जयन्ती मनाउँदै आएपनि आगामी दिनमा बुद्ध जयन्तीलाई अझ विशेष र रचनात्मक बनाउँदै लैजान ‘अहिंसा दिवस’ रुपमा मनाउने निर्णय गरेको आयोजक समितिका सचिव गेली शेर्पाले जानकारी दिनुभयो । बुद्ध जयन्तीका दिन कुनैपनि प्राणीको हिंसा नगर्ने वातावरण मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, तत्सँग सम्वन्धित निकायहरुमा ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराउने तयारी समेत गरेको सचिव शेर्पाको भनाई छ । बुद्ध जयन्ती राज्यले नै मनाउनुपर्ने र यस दिन कुनैपनि प्राणीको हिंसा गर्नु नहुने निर्णय गर्न सरकारलाई दबाब दिने समेत मूल आयोजक समितिको तयारी छ । समितिले प्रराम्भिक निर्णय लिइ सकेको र किदुग, शेर्पा तथा बौद्ध धर्मसँग सम्वन्धित संघसंस्था, अहिंसावादी संगठन र अभियान्तहरुसँग छलफल गरी विस्तृत रुपमा अघि बढ्दै राज्यलाई दबाब बढाउने समितिको योजना छ ।
यसैबीच, मूल आयोजक समितिको आयोजनामा बौद्धस्थित शेर्पा सेवा केन्द्रबाट शेर्पा समुदायले बुद्धजयन्ती शान्ति पदयात्रा सम्पन्न गरेको छ । शान्ति पदयात्रा टुशाल, चुच्चेपाटीहुँदै चावहिलको चारुमती स्तुपा, प्राचिन कटुबहाल, लामपोखरी हुँदै शेर्पा सेवा केन्द्रमा आइ सम्पन्न भएको आयोजक समितिका अध्यक्ष कामी शेर्पाले जानकारी दिनुभयो । पदयात्रामा शेर्पा संघ संस्था, किदुगहरु, विभिन्न गुम्बाका लामा भिक्षुहरु लगायत सयौंको सहभागिता रहेको जनाइएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ११ : ४० बजे