२१ कार्तिक २०८१, बुधबार | Thu Nov 7 2024

पहिलो सगरमाथा आरोही शेर्पा दम्पतीद्धारा गुम्बालाई सहयोग



ओखलढुंगा । ओखलढुंगा खिजीदेम्बा ९ खुन्दुर्केमा निर्माणाधिन साम्डुप छोलिङ गुम्बालाई एक दम्पतीले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । ओखलढुंगाको पहिलो सगरमाथा आरोही समेत रहनु भएका दोर्जी शेर्पा र श्रीमती डोमा शेर्पाले गाउँमै निर्माणाधिन गुम्बालाई नगद ५ लाख रुपैयाँ सहयोग गर्नु भएको हो ।
खुन्दुर्के कै स्थानीय शेर्पाले अन्य विभिन्न सामाजिक कार्यहरुका लागि पनि आर्थिक भौतिक सहयोग गर्दै आउनु भएको र गुम्बाको प्राणप्रतिष्ठा समेत सम्पन्न गर्न आर्थिक सहयोग प्राप्त भएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिनुभयो ।
गाउँको शिरमा गुम्बा निर्माण भएको र गुम्बा निर्माणसँगै बौद्धमार्गीहरुलाई साझा पुण्यआर्जन गर्ने थलो निर्माण भएकोले निर्माण समयमै सम्पन्न होस् भन्ने हेतुले दान सहयोग गरेको दाता शेर्पाको भनाइ छ । ‘यसरी सहयोग गर्न पाउँदा पुण्य आर्जन गरेको महशुस हुन्छ, आफूसँग भएको केही हिस्सा सहयोग गर्न पाउनु नै हाम्रो धर्म हो । असाध्यै खुसी छु ।’ सहयोगीदाता शेर्पाले भन्नु भयो ‘राज्यको मुख ताकेर वस्दा गुम्बा बन्ने नबन्ने टुंगो हुँदैन, हामी नै जुट्यौं भने त केही न केही भैहल्छ ।’
गुम्बाको वाहिरी सरचना निर्माणको काम सम्पन्न भएसँगै रंगरोगन र प्राण प्रतिष्ठा गर्ने तयारीमा व्यवस्थापन समिति जुटेको छ । स्थानीयकै सहयोगमा निर्माण सम्पन्न गर्न लागेको गुम्बा लागि व्यवस्थापन समितिका अध्यक्ष स्वयम्ले ५ रोपनी जग्गा र लाखौं रुपैयाँ योगदान गर्नु भएको छ । प्राण प्रतिष्ठा लगायत गुम्बाको भौतिक संरचनाको बाँकी काम सम्पन्न गर्न खिजीदेम्बा ९ घुन्सा घरभई हाल कपन काठमाडौं बस्नु हुने डोमा शेर्पाले दुई लाख, खिजीदेम्बा ९ खुन्दुर्के निवासी दावा गेल्जे शेर्पा र श्रीमती डोल्मा शेर्पाले दुई लाख, खिजीदेम्बा ९ घुन्सा घर भई हाल साइप्रसमा रहनु हुने फुटी शेर्पाबाट एक लाख, खिजीदेम्बा ९ गुम्बा टोलका देण्डी शेर्पा र श्रीमती च्यामु शेर्पाबाट ५० हजार सहयोग हालै प्राप्त भएको जनाइएको छ । गुम्बा व्यवस्थापन समितिले यसअघि सहयोग गर्नु हुनेहरुको नाम समेत क्रमिक रुपमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  १२ : २८ बजे