ओखलढुंगा । काठमाडौं बौद्धस्थित सेचेन महाबौद्ध विहार (गुम्बा) द्धारा खिजीदेम्बा गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । गुम्बाको नाममा रहेको टाटा सुमो एम्बुलेन्स गाउँपालिकालाई निःशुल्क हस्तान्तरण गरेको हो ।
गुम्बाले केही समयअघि अस्पताल सञ्चालन गर्ने हेतुले एम्बुलेन्स खरीद गरेपनि कोभिड लगायतका कारणले एम्बुलेन्स प्रयोगमा आउन नसकेपछि खिजीदेम्बा गाउँपालिकालाई हस्तान्तरण गरेको जनाइएको छ । एकतिर एम्बुलेन्स प्रयोगविहिन थियो भने अर्कोतर्फ गाउँपालिकाले सहयोग र समन्वयको लागि अनुरोध आएसँगै एम्बुलेन्स हस्तान्तरण गरेको व्यवस्थापन समितिका अध्यक्ष खेन्पो टासि छिरिङ लामाले जानकारी दिनुभयो ।
ग्रामिण धुले सडकमा समेत राम्रो गरी सञ्चालन गर्न सकिने एम्बुलेन्स पालिकालाई हस्तान्तरण गर्दै दिगो सञ्चालन र व्यवस्थापनका लागि दुई पक्षीय सम्झौता समेत भएको अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो । पालिकाभित्र रहेको एम्बुलेन्सले सबै क्षेत्रमा समयमै सेवा दिन असंभव बनेको र सबैले समयमै सेवा प्राप्त गर्न थप एम्बुलेन्स आवश्यकता भएकाले गुम्बासँग आग्रह गर्दा सहयोग प्राप्त भएको अध्यक्ष शेर्पाको भनाइ छ ।
एम्बुलेन्स हस्तान्तण कार्यक्रममा गुम्बा व्यवस्थापन समितिका अध्यक्ष लामा र पालिका अध्यक्षवीच एम्बुलेन्सलाई तत्कालै पालिकाको नाममा नामसरी गर्ने लगायतका विषयमा समेत सम्झौता पत्रमा हस्तक्षर भएको थियो ।
आवश्यक कागजी र कानूनी प्रकृया पूरा गरी तत्कालै पालिकाको नाममा एम्बुलेन्स नामसरी गर्ने अध्यक्ष शेर्पाले बताए । पालिकाले एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि समेत निर्माण गरी सकेको र चालू अवस्थामा सबै वडालाई मिलाएर सेवा प्रदान गर्ने जनाइएको छ । यसअघि प्रदेश स्वास्थ्य मन्त्रालयले टोयटा कम्पनीको एम्बुलेन्स सहयोग गरेको थियो । पालिकामा एक थान पुरानोसहित यससँगै ४ वटा एम्बुलेन्स भएको छ । त्यस्तै, दक्षिण कोरियाबाट समेत एम्बुलेन्स सहयोग गर्न पालिकाको नाममा बजेट प्राप्त भई खरीद प्रकृया अघि बढाई सकेको प्रमुख प्रशासकीय अधिकृत रमेश सुनुवारले जानकारी दिनुभयो ।
एम्बुलेन्स प्राप्त भएपछि अध्यक्ष शेर्पाले गुम्बा परिवारलाई धन्यवाद ज्ञापन गर्दै आर्थिक स्रोत कम भएका स्थानीय तहहरु मागेर सरकार चलाउन र जनताको सेवा गर्न बाध्य रहेको अवस्थामा गुम्बाले ठूलो हृदयले सहयोग गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।