ओखलढुंगा (रेडियो ओखलढुंगा )ओखलढुंगा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समिति र स्वास्थ्य कार्यालयले मङ्गलबार ओखलढुंगामा एक कार्यक्रम आयोजना गरी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको हो । स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख कर्मचन्द्र राजवंशीले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको जानकारी दिनुभयो । एकपटक पूर्ण खोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरुले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ । ओखलढुंगा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्दै जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका उपप्रमुख तारा कार्कीले जिल्लाका ८ स्थानीय तहका जन्मेदेखि १५ महिनाका १ हजार ९ सय ३७ र १६ देखी ५९ महिनाका ४ हजार ७ सय ६२ बालबालिकाले पूर्ण रुपमा खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले पूर्ण खोप सुनिश्चतता घोषणा गर्न सहयोग गर्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख, महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । यस्तै ओखलढुंगा जिल्लाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले संस्थागत संरचना बलियो भएकाले पूर्ण खोप सुनिश्चित घोषणा गर्न सफल भएको बताउदै ,स्थानिय सरकारको अगुवाई ,अपनत्व र निरन्तरता भयो भने हरेक बर्ष पूर्ण खोप सुनिश्चित तथा दिगोपन जिल्ला घोषणा गर्ने सकिने उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख तारा कार्की , प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकाल , जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक कृष्ण खडका लगायत स्वाथ्यकर्मी स्वास्थ्य स्वयम् सेविकाहरुको उपस्थित रहेको थियो ।
२६ असार २०८१, मंगलबार
56
Shares