८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

देम्बामा गुरु पद्मासंभवको मूर्ति बनाउन सहयोगको अपिल



काठमाडौं । ओखलढुंगा जिल्लाको अग्लो देम्बा डाँडामा बन्ने २५ फिट अग्लो गुरु पद्मसंभवको मूर्ति निर्माणका लागि सहयोगको अपिल गरेको छ । अभियान्त निमा साङ्गे शेर्पाले अनुमानित भन्दा बढी लागत लाग्ने भएकाले मूर्ति निर्माण सम्पन्न गर्न सहयोगका लागि अपिल गर्नुभएको हो ।
खिजीदेम्बा ६ निवासी बौद्ध भिक्षु शेर्पाको परिवारले २१ लाख रुपैयाँ प्रारम्भिक लगानीबाट मूर्ति निर्माण शुरु गरेपनि निर्माण अघि बढ्दै जाँदा लागत बढ्ने भएकाले सहयोगका लागि सबैसँग अपिल गर्नुपरेको कोषाध्यक्ष आङ छेपाल शेर्पाले जानकारी दिनुभयो । मूर्ति निर्माण सम्पन्न गर्न करीव ७५ लाख रुपैयाँ लाग्ने पछिल्लो आँकलन छ । अहिले निर्माणको काम धमाधम भईरहेको र खानेपानी, ढुवानी लगायतले लागत बढेको अभियान्त शेर्पाको भनाई छ ।
धार्मिक, पर्यटकीय र सांस्कृतिक रुपमा गाउँपालिकालाई चिनाउने र पुण्यसहित लोकको हितको लागि मूर्ति निर्माण अभियान सञ्चालन गरेको अभियान्तहरु बताउँछन् । गुरु पद्मासंभवको प्रतिमा स्थापनासँगै यसक्षेत्रमा पर्यटनको थप आकर्षण बढ्ने विश्वास लिइएको छ । प्रतिमा (मूर्ति) निर्माण समितिका संयोजक समेत रहनु भएका भिक्षु शेर्पाले आफूले लामो समयमा बौद्ध शिक्षा अध्ययन गरेको र आफू बसेर अध्ययन गरेको किल्खोरदिंग गुम्बा नजिकै प्रतिमा स्थापना गर्ने सानैदेखिको धोको रहेकोले त्यो सपना पूरा गर्न सबैको आर्थिक, भौतिक, नैतिक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय सरकारकोतर्फबाट खिजीदेम्बा गाउँपालिकाले खानेपानीको व्यवस्थापनका लागि सहयोग गरेको र अन्य क्षेत्रमा समेत सहयोग गर्ने अध्यक्षबाट सकारात्मक जवाफ प्राप्त भएकाले समयमै प्रतिमा निर्माण सम्पन्न हुने कोषाध्यक्ष शेर्पाको भनाई छ ।
गाउँपालिका अध्यक्ष गम्बु शेर्पा, प्रमुख प्रशासकीय अधिकृत रमेश सुनुवार लगायत स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधी र समाजका अगुवाहरुले यसअघि पटकपटक प्रतिमा निर्माण स्थलमा पुगि श्रमदान गरिसक्नु भएको बताउँनु हुँदै निर्माण समितिका अध्यक्ष शेर्पाले थप बजेट सहयोग समेत गाउँपालिकाबाट प्राप्त हुने अपेक्षा गर्नुभयो ।
केही दिनदेखि आर्थिक सहयोग संकलन अभियान शुरु भएको र छिट्टै लक्ष्यमा पुग्ने गरी अघि बढेको कोषाध्यक्ष शेर्पाको भनाई छ । प्रतिमा निर्माणमा विविध आयमहरु जोडिएकाले सबैले स्वऐच्छिक दान गरेर पुण्य आर्जन र जन्म थलोप्रति सम्मान गर्न सकिने कोषाध्यक्ष शेर्पाले बताउनुभयो । करीव २ महिनाभित्र बाह्य संरचना निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएपनि बर्षातको समय, सामाग्री ढुवानी लगायत मौसमका कारणले चुनौति रहेको निर्माण पक्षको भनाई छ । विभिन्न समस्या र चुनौतीका भावजूदपनि निर्माण सम्पन्न गरी आगामी चैत्रभित्र विशेष कार्यक्रमका वीच प्रतिमाको प्राण प्रतिष्ठा गर्ने गरी अघि बढेकाले स्वऐच्छिक सहयोगका लागि निर्माण पक्षले अपिल गरेको छ ।

प्रकाशित मिति : ३२ असार २०८१, सोमबार  ११ : ३६ बजे