ओखलढुंगा (रेडियो ओखलढुंगा) । जिल्लाको मानेभन्ज्याङ गाउँपालिका वडा नं. ६ स्थित एक विद्यालय व्यवस्थापन समितिका चार जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । विव्यस अध्यक्ष आश्राचन राईले विद्यालयभित्र अनैतिक, सामाजिक मूल्य मान्यता विपरित कार्य गरेको आरोप लगाउँदै साउन ६ गते सदस्यहरुले सामूहिक राजीनामा दिएका हुन् । महादेव मावि हिलेपानी व्यवस्थापन समितिका सदस्यहरु वीरबहादुर राई, मनसरी राई, चौरामाया राई र विविराज राईले सामूहिक राजनीनामा दिएका हुन । उनीहरुले राजीनामा पत्रलाई विद्यालय प्रशासनले सोही दिन ४ नम्बरमा दर्ता गरेका छन् ।
अध्यक्ष राईले विद्यालय हाताभित्र अभिभावकलाई मादक पदार्थ सेवन गराई, आर्थिक प्रलोभन समेत देखाई सामाजिक मूल्य मान्यता र शिक्षा ऐन तथा नियमावलीलाई समेत लत्याउँदै असोचनीय, अकल्पनीय तथा विवेकहिन, अनैतिक क्रियाकलाप गरेको राजीनामा पत्रममा उल्लेख छ । अध्यक्षको यस्तो क्रियाकलापले पदमा रही रहन आफूहरुलाई नैतिक संकट परेको र यसबाट प्रशासनीक तथा शैक्षिक गतिविधिलाई मार्ग प्रशस्त गर्न नैतिकताको आधारमा राजीनामा दिएको उनीहरुले उल्लेख गरेका छन् ।
मानेभन्ज्याङ गाउँपालिकाका उपाध्यक्ष समेत रहेका विव्यस अध्यक्ष राईसँग यस विषयमा बुझ्दा राजनैतिक प्रतिशोधका कारणले आफूमाथि झुट्ठो आरोप लगाएको र राजीनामा फिर्ता गराउने तयारी भइरहेको बताए ।
८ श्रावण २०८१, मंगलबार
474
Shares