ओखलढुंगा (रेडियो ओखलढुंगा) प्रहरी कार्यालय ओखलढुंगाको अनुसन्धानबाट पीडित भनिएका केशरप्रसाद बाँस्तोलाले बलात्कार ढाकछोप गर्न आफैलाई छुरा प्रहार गरेको खुलासा भएको छ । मानेभञ्ज्याङ गाउँपालिका – ९ बस्ने ५० वर्षिय बास्तोलालाई अज्ञात समूहले धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएको भनिएकोमा आफैले आत्महत्या प्रयास गरेको खुलासा भएको हो । गएको साउन ७ गते राति ११ः३० बजेको समयमा अपरिचित ३ जना व्यक्तिहरु घरमा आई घर बाहिर नजिकै को झोलुङ्गे पुलमा लगि नगद लुटेको, धारिलो हतियार प्रयोग गरी मरणासन्न हुने गरी कुटपिट समेत गरी मोलुङ् खोलामा फ्यालिदिएको भन्ने घटना सार्वजनिक भएको थियो । सो घटनामा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरीक्षक बिजय कार्कीको कमाण्डमा परिचालन भएको प्रहरी टोलीले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा केशरप्रसाद बास्तोला समेतले एक युवती लाई पटक–पटक जवरजस्ती करणी गर्ने गरेको, उक्त अपराधलाई ढाकछोप गर्न उनकै पहलमा साउन ६ गते पिडीतको गर्भपतन गराउन काठमाडौँतर्फ पठाइएको र घटनाको सम्बन्धमा अस्पताल प्रशासनले प्रहरी समेतलाई जानकारी गराइसकेको भन्ने उनलाई जानकारी प्राप्त भएपछि जवरजस्ती करणीको घटना बिषयान्तर र ढाकछोप गर्न उक्त घटनाको नाटक रचेको खुलेको छ । उनले आफन्त र गाउँघरका मानिसले के भन्लान् भनेर आत्मग्लानी भएर घरमै रहेको चुप्पीले आफैंले आफैंलाई प्रहार गरी आत्महत्याको प्रयास गरेको भन्ने समेत व्यहोरा उनीबाटै खुल्न आएको प्रहरीको भनाई छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेछ ।
१७ श्रावण २०८१, बिहिबार
64
Shares